वीरगञ्ज । शनिबारको आन्तरिक विवाद र झडपका कारण स्थगित भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको प्रथम जिल्ला अधिवेशन अन्तर्गतको निर्वाचन प्रक्रिया सोमबार अबेर राति शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
सार्वजनिक गरिएको मतपरिणाम अनुसार रास्वपा पर्साको जिल्ला सभापति पदमा बुद्धिप्रसाद पन्त (हरि पन्त) दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । आफ्ना निकटतम प्रतिस्पर्धीलाई फराकिलो मत अन्तरले पाखा लगाउँदै पन्तले जिल्ला कमाण्डमा आफ्नो ‘दोस्रो इनिङ’ सुरक्षित गरेका हुन् ।
रास्वपा पर्साका निर्वाचन संयोजक डा। नन्दन यादवका अनुसार खसेको कुल मतमध्ये विजयी पन्तले १६६ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी सुशील साह कानुले ११८ मत मात्रै प्राप्त गरे । सभापतिमा विजयी पन्त र कानुबिच ४८ मतको अन्तर रहेको छ ।
सभापतिसँगै कार्यसमितिका अन्य मुख्य पदाधिकारी पदहरूमा पनि पन्त प्यानलकै उम्मेदवारहरूले जित निकालेका छन् । कार्यसमितिको उपसभापति पदमा १६२ मतसहित दिलिपकुमार कुर्मी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी रणदिप श्रीवास्तवले ११४ मत प्राप्त गरे ।
यसै गरी, पार्टीको जिल्ला सचिव पदमा सुदिशकुमार प्रजापति १६० मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी शिवकुमार साहले ११६ मत मात्र प्राप्त गरे । यसैगरी सहसचिव पदमा भने १४९ मतका साथ कृष्णा पासवान विजयी भएका छन् । सहसचिवका अर्का उम्मेदवार निरजकुमार साहले ११३ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
अधिवेशनबाट पदाधिकारीबाहेक पाँच जना जिल्ला कार्यसमिति सदस्यहरू समेत निर्वाचित भएका छन् । सदस्य पदका लागि भएको मतदानबाट तुलसा पौडेल अधिकारी १६० मत, प्रियंका कुमारी कुर्मी १५५ मत, कामोध्या चौधरी १३३ मत, पूर्णबहादुर सापकोटा १३१ मत र शशीदेवी थरुनी १०० मत प्राप्त गरी विजयी भएका छन् ।
यसअघि शनिबार वीरगञ्जमा आयोजित जिल्ला अधिवेशनका क्रममा नेतृत्व चयनको विषयलाई लिएर दुई पक्षबिच विवाद र मर्यादा बाहिर गएर कुटाकुट भएपछि निर्वाचन प्रक्रिया एकाएक स्थगित गरिएको थियो । उक्त अप्रिय घटनापछि निर्वाचन संयोजक डा। यादवले आईतबार विशेष विज्ञप्ति जारी गर्दै दिउँसो ३ बजेदेखि वीरगञ्जको ‘क्लासिक ब्याङ्क्वेट’ मा कडा सुरक्षा घेराभित्र निर्वाचन गराउने नयाँ कार्यतालिका सार्वजनिक गरेका थिए ।
निर्वाचन सम्पन्न भएपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै निर्वाचन संयोजक डा। यादवले शनिबारको तितो अनुभवलाई बिर्सिँदै आज नयाँ नेतृत्व चयनका लागि भएको सम्पूर्ण चुनावी प्रक्रिया अत्यन्तै शान्तिपूर्ण, मर्यादित र निष्पक्ष रूपमा सम्पन्न भएको जानकारी दिए ।