वीरगञ्ज । सरकारी सूचना तथा विज्ञापन वितरणमा सरकारले अवलम्बन गरेको विभेदकारी र स्वेच्छाचारी नीतिको विरोधमा पर्साका पत्रकारहरू आन्दोलनमा उत्रिएका छन्।
नेपाल पत्रकार महासंघ पर्सा शाखाको आह्वानमा बुधबार जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि विरोध प्रदर्शनसहित एक घण्टे धर्ना कार्यक्रम आयोजना गरिएको हो। बिहान ११ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन भएको धर्नामार्फत पत्रकारहरूले प्रेसको संवैधानिक स्वतन्त्रता, सञ्चारमाध्यमको अधिकार तथा सरकारी सूचना र विज्ञापनमा समान पहुँचको सुनिश्चितताको माग गरेका छन्।
धर्ना कार्यक्रममा सहभागी पत्रकारहरूले सरकारी सूचना तथा विज्ञापन वितरणसम्बन्धी हालै लागू गरिएको निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले राज्यका सूचना तथा विज्ञापनमा सबै सञ्चारमाध्यमको समान, निष्पक्ष र न्यायोचित पहुँच सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन्।
नेपाल पत्रकार महासंघ पर्साका पदाधिकारी तथा सञ्चारकर्मीहरूले सरकारको पछिल्लो नीतिले सञ्चार क्षेत्रभित्र अस्वस्थ वर्गीकरण, विभेद र असमानता सिर्जना गरेको आरोप लगाएका छन्। उनीहरूको भनाइमा उक्त निर्णयले स्वतन्त्र पत्रकारिता, प्रेस स्वतन्त्रता र निष्पक्ष सूचना प्रवाहको वातावरणमा नकारात्मक असर पार्नेछ।
महासंघले स्थानीय प्रशासनमार्फत सरकारको ध्यानाकर्षण गराउँदै सञ्चारमाध्यमप्रति अपनाइएको विभेदपूर्ण नीति तत्काल फिर्ता लिन, प्रेसमैत्री वातावरण कायम गर्न तथा सञ्चार क्षेत्रको सम्मान र स्वतन्त्रताको संरक्षण गर्न आग्रह गरेको छ।
धर्ना कार्यक्रममा पर्सामा क्रियाशील विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो। नेपाल पत्रकार महासंघ पर्सा शाखाले सञ्चार क्षेत्रको हकहित र प्रेस स्वतन्त्रताको संरक्षणका लागि आवश्यक परे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएको छ।