२९ जेठ, काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकहरूमाथि ट्राफिक प्रहरीले कडा निगरानीका साथै कारबाही अभियानलाई तीव्रता दिएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा मात्रै उपत्यकाका विभिन्न स्थानमा नियम मिच्ने २ हजार २ सय २३ जना चालकहरू कारबाहीमा परेका छन् । यसरी नियम उल्लङ्घन गर्नेहरूबाट गरिएको जरिवानाबापत राज्यकोषमा १८ लाख ८१ हजार रुपैयाँ राजस्व दाखिला भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार कारबाहीमा पर्नेहरूमध्ये सबैभन्दा ठूलो सङ्ख्या अन्य विविध ट्राफिक नियम उपेक्षा गर्नेहरूको छ, जसको सङ्ख्या १ हजार २५१ रहेको छ ।
त्यसैगरी, पछिल्लो समय बढ्दो चुनौतीका रूपमा देखिएको नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १५० जना चालक र ध्वनि प्रदूषण बढाउने गरी निषेधित क्षेत्रमा हर्न बजाउने १५४ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ ।
सडक सुरक्षालाई नै जोखिममा पार्ने गरी तीव्र गतिमा सवारीसाधन हुइँक्याउने ११८ जना र ट्राफिक सङ्केत बत्ती (रेड लाइट)उल्लङ्घन गर्ने १७७ जना चालकहरू कारबाहीको दायरामा आएका छन् ।
यस्तै, चेकिङका क्रममा मादक पदार्थ सेवन (मापसे) गरी स्टेरिङ समात्ने ९४ जना, एकतर्फी सडक (वन वे) मा सवारी चलाउने १२१ जना, फुटपाथमै पार्किङ गरेर पैदलयात्रुलाई बाधा पुर्याउने ९८ जना र लेन अनुशासन पालना नगर्ने ६१ जना चालकहरूमाथि समेत ट्राफिक प्रहरीले कडा कारबाही गरेको छ ।