बारा । करैयामाई गाउँपालिका–७ उमजनस्थित श्री जनता माध्यमिक विद्यालयको खेल मैदानमा आजदेखि तेस्रो करैयामाई गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ। करैयामाई गाउँपालिकाको आयोजना तथा नव जन जागृति युवा क्लब, करैयामाई युवा समाज र बारा फाउन्डेसनको संयुक्त सहकार्यमा प्रतियोगिता सञ्चालन हुन लागेको हो।
प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष मनिन्द्र चौधरीको अध्यक्षता तथा करैयामाई गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उमेश प्रसाद यादवको प्रमुख आतिथ्यता रहेको थियो।
पत्रकार सम्मेलनमा करैयामाई युवा समाजका अध्यक्ष चाँद बाबु अन्सारी, बारा फाउन्डेसनकी अध्यक्ष मुना चौधरी, स्थानीय क्लबका पूर्व अध्यक्ष रूप नारायण प्रसाद यादवलगायत जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन शिक्षक गोपाल चौधरीले गरेका थिए।
जेठ ३१ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नौ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। सहभागी टोलीहरूमा एपीएफ बर्दिवास, वीरगञ्ज सिटी क्लब, वीरगञ्ज युथ एकेडेमी, हेटौंडा फुटबल एकेडेमी, बकुलिया–११, एनजेजेवाइसी सिमरा, अल्टोकी फुटबल क्लब रौतहट, नवजन प्रगति युवा क्लब करैयामाई–७ बारा तथा सनराइजिङ करैयामाई–७ बारा रहेका छन्।
प्रतियोगिताको विजेताले ७० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले ३५ हजार रुपैयाँ नगद पुरस्कार हात पार्नेछन्। प्रतियोगिता सञ्चालनका लागि ७ लाख १० हजार रुपैयाँको अनुमानित बजेट तय गरिएको आयोजकले जनाएको छ।
स्थानीय स्तरमा खेलकुदको विकास, युवाहरूको प्रतिभा प्रोत्साहन तथा फुटबलप्रति आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ।