राष्ट्रिय स्वतन्त्र पार्टी पर्सागढीका युवा नेता विकेश राय थारू पुनः आफ्नै राजनीतिक घर रास्वपामा फर्किएका छन्। केही समयअघि आन्तरिक तथा सांगठनिक असमझदारीका कारण अन्य राजनीतिक दलमा आबद्ध भएका थारू पार्टीको विचार, सिद्धान्त र जनमुखी कार्यशैलीप्रति निरन्तर आस्था राख्दै आएका कारण दर्जनौँ समर्थकसहित पुनः रास्वपामा प्रवेश गरेका हुन्।
पर्सागढीमा आयोजित विशेष कार्यक्रमबीच थारूले औपचारिक रूपमा पार्टीमा पुनः प्रवेश गरेका हुन्। कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नं। २ का प्रतिनिधिसभा सदस्य सुशील कुमार कानूले खादा र अबिर लगाएर उनलाई पार्टीमा स्वागत गरे।
स्वागत कार्यक्रममा बोल्दै सांसद कानूले सक्षम, इमानदार र जनतामाझ लोकप्रिय युवाहरूको पुनरागमन रास्वपाका लागि सकारात्मक संकेत भएको बताए। उनले यस्ता युवाको सक्रियताले पार्टी संगठनलाई थप मजबुत बनाउने र आगामी निर्वाचनमा राम्रो परिणाम हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
“रास्वपा परिवर्तनको अभियान बोकेको पार्टी हो। जनताको आशा र भरोसालाई केन्द्रमा राखेर काम गर्ने युवाहरूको पुनरागमनले संगठनलाई थप ऊर्जा र गति दिन्छ,” सांसद कानूले भने।
युवा नेता थारू गत स्थानीय तह निर्वाचनमा पर्सागढी नगरपालिका वडा नं। १ बाट वडाध्यक्ष पदका उम्मेदवार बनेका थिए। उनले उल्लेखनीय मत प्राप्त गर्दै झिनो मतान्तरले दोस्रो स्थान हासिल गरेका थिए। उनी रास्वपा पर्सागढीको प्रथम अधिवेशनदेखि नै संगठनमा सक्रिय रहँदै आएका थिए।
पार्टीमा पुनरागमनपछि थारूले रास्वपाको मूल उद्देश्य, नीति र जनताप्रतिको उत्तरदायित्वपूर्ण राजनीतिक संस्कारलाई नजिकबाट अनुभूति गरेको बताउँदै अब पुनः सक्रिय रूपमा जनसेवामा लाग्ने प्रतिबद्धता व्यक्त गरे।
पर्सागढी नगर सभापति कविराज अर्यालको अध्यक्षतामा सम्पन्न स्वागत तथा घरवापसी कार्यक्रममा रास्वपाका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा युवा नेता सुधीर पटेल, नेता बुद्धिराज पौडेल र जोखू मियाँको विशेष सहभागिता रहेको थियो।
त्यसैगरी नगर उपसभापति सुनील रायभर, नगर सचिव सर्फू आलम अन्सारी, वडा सभापतिहरू मिनबहादुर भण्डारी, उमेश राउत, फिरोज मियाँ, रामलीला चौधरी लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
स्थानीय नेताहरूले थारूको पुनरागमनले पर्सागढी क्षेत्रमा पार्टी संगठन थप सुदृढ हुने, युवामा उत्साह बढ्ने तथा आगामी राजनीतिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन्।
रास्वपाले पछिल्लो समय पर्सा जिल्लामा संगठन विस्तार अभियान तीव्र बनाइरहेका बेला थारूको घरफिर्तीलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।