वीरगञ्ज— वीरगञ्ज महानगरपालिका–८, पानीटंकीस्थित लिटल बडी प्रि स्कुलमा युकेजी उत्तीर्ण गरी कक्षा १ मा प्रवेश गरेका विद्यार्थीहरूको सम्मानमा भव्य ग्राजुएसन सेरेमोनी सम्पन्न भएको छ।
विद्यालयका प्रिन्सिपल विजय बलको अध्यक्षता तथा डा. प्रिति यादवको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा ग्राजुएसन गाउन र टोपीमा सजिएका विद्यार्थीहरूले प्रमाणपत्र ग्रहण गर्दै आफ्नो उपलब्धिको खुसी साटासाट गरेका थिए। कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
समारोहलाई सम्बोधन गर्दै वक्ताहरूले प्रारम्भिक बाल शिक्षाको क्षेत्रमा विद्यालयले पुर्याउँदै आएको योगदानको प्रशंसा गरेका थिए। उनीहरूले गुणस्तरीय शिक्षा, अनुशासित वातावरण तथा बालमैत्री शिक्षण पद्धतिमार्फत विद्यालयले वीरगञ्जको शैक्षिक क्षेत्रमा विशिष्ट पहिचान स्थापित गर्न सफल भएको बताए।
वक्ताहरूले यस्ता कार्यक्रमले बालबालिकाको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि तथा नेतृत्व क्षमताको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै प्रारम्भिक शिक्षालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।
समारोहमा प्याब्सन वीरगञ्ज महानगरका अध्यक्ष राहुल श्रीवास्तव, सचिव अमित आलोक, कोषाध्यक्ष सुरज पटेल, समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमन, वीरगञ्ज युवा समाजका पूर्वअध्यक्ष कमल चौगाईं लगायत शिक्षा, सामाजिक तथा सञ्चार क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको विशेष आकर्षण विद्यार्थीहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक कार्यक्रम थिए। नानीबाबुहरूले गीत, नृत्य तथा अन्य सिर्जनात्मक प्रस्तुतिमार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए, जसले उपस्थित अभिभावक तथा अतिथिहरूलाई मन्त्रमुग्ध बनाएको थियो।
अभिभावकहरूले विद्यालयले शैक्षिक विकाससँगै बालबालिकाको सिर्जनशीलता, नेतृत्व क्षमता तथा सामाजिक व्यवहार विकासमा समेत विशेष ध्यान दिएको भन्दै प्रशंसा व्यक्त गरेका थिए। विद्यालयका अनुसार ग्राजुएसन सेरेमोनीले बालबालिकाको उपलब्धिको सम्मान गर्नुका साथै आगामी शैक्षिक यात्राका लागि उनीहरूलाई थप उत्साहित र जिम्मेवार बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।