क्रिएटिभ स्कुल ग्रुपको आयोजनामा जुनियर तथा सिनियरस्तरीय चित्रकला तथा हस्तलेखन प्रतियोगिता आइतबार अल्फाटेक मोडर्न स्कुलमा सम्पन्न भएको छ। एन–प्याब्सनका केन्द्रीय सचिव तथा ओसिस माध्यमिक विद्यालयका सञ्चालक इन्द्रदेव शाहको सभापतित्व एवं वीरगञ्ज महानगरपालिका–७ का वडा अध्यक्ष हिराकाजी महर्जनको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष महर्जनले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा सहभागी गराउने क्रिएटिभ स्कुल ग्रुपको पहल प्रशंसनीय रहेको बताए। यस्ता प्रतियोगिताले बालबालिकाको बौद्धिक तथा सिर्जनात्मक क्षमताको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो। चित्रकला र हस्तलेखनमार्फत विद्यार्थीहरूले आफ्ना भावना तथा विचार अभिव्यक्त गर्न सक्ने भएकाले यस्ता कार्यक्रमको महत्व अझ बढेको उनले उल्लेख गरे। आगामी दिनमा यस्ता गतिविधिका लागि वडाको तर्फबाट आवश्यक सहयोग जारी रहने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
त्यसैगरी प्याब्सन वीरगञ्ज महानगर अध्यक्ष तथा माउन्ट मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल राहुल श्रीवास्तवले विद्यार्थीहरूको चौतर्फी विकासका लागि यस्ता सिर्जनात्मक प्रतियोगिता आवश्यक रहेको बताए। उनले क्रिएटिभ स्कुल ग्रुपले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको भन्दै आयोजकलाई धन्यवाद दिए। शिक्षा क्षेत्रको विकासका लागि भविष्यमा पनि सहकार्य र समन्वय गर्न आफू तयार रहेको उनको भनाइ थियो।
प्रतियोगितामा ओसिस माध्यमिक विद्यालय, अल्फाटेक मोडर्न स्कुल, विभूति एकेडेमी र ग्रीनल्यान्ड माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।
हस्तलेखन प्रतियोगिताको सिनियरतर्फ विभूति एकेडेमीकी कक्षा ७ की सुनिता सराफ प्रथम, सोही विद्यालयकी नोमया गुप्ता द्वितीय तथा ओसिस माविका निरज चौधरी तृतीय भएका छन्। जुनियरतर्फ अल्फाटेक मोडर्न स्कुलकी परी कुमारी प्रथम, विभूति एकेडेमीकी बेबी सरार्फ द्वितीय तथा ओसिस माविकी रीतिका चौधरी तृतीय भएकी छन्। हस्तलेखन प्रतियोगिताको निर्णायकको भूमिका श्याम शाहले निर्वाह गरेका थिए।
चित्रकला प्रतियोगिताको सिनियरतर्फ विभूति एकेडेमीकी प्रिया गुप्ता प्रथम, ओसिस माविकी पुनिता पटेल द्वितीय तथा ग्रीनल्यान्ड माविकी प्रियासी कुमारी तृतीय भएकी छन्। जुनियरतर्फ ग्रीनल्यान्ड माविका म. सदिक हवारी प्रथम, अल्फाटेक मोडर्न स्कुलका सन्ध्याराम द्वितीय तथा प्रिया कुमारी तृतीय भएकी छन्। चित्रकला प्रतियोगिताको निर्णायक श्वेता गुप्ता रहेकी थिइन्।
विजेता तथा उपविजेताहरूलाई प्रमाणपत्र, मेडल तथा शिल्ड प्रदान गरी सम्मान गरिएको अल्फाटेक मोडर्न स्कुलका संस्थापक तथा एन–प्याब्सन अध्यक्ष रामसुन्दर चौधरीले जानकारी दिए।
कार्यक्रममा मिनील्यान्ड बोर्डिङ स्कुलका प्रिन्सिपल तथा प्याब्सन महानगर कोषाध्यक्ष सुरजबाबु पटेल, विभूति एकेडेमीका होरिल शाह, ग्रीनल्यान्ड माविका कृष्ण पण्डित, अल्फाटेक मोडर्न स्कुलका बलिराम यादव, चन्दन महत्तो, महेश पण्डित, रितेश शाहलगायतको उपस्थिति रहेको थियो।