विद्यार्थीहरूमा नेपाली भाषा र साहित्यप्रतिको अभिरुचि बढाउन तथा यसको संरक्षण र प्रवर्द्धन गर्न विद्यालय, परिवार र समाज सबैको समान भूमिका आवश्यक रहेकोमा सरोकारवालाहरूले जोड दिएका छन्।
साहित्यिक चौतारी नेपाल मधेश प्रदेश समितिको आयोजनामा वीरगञ्ज पब्लिक कलेज (बिपिसी) मा सम्पन्न “नेपाली भाषा र साहित्य” विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ता तथा शिक्षकहरूले नेपाली भाषाको वर्तमान अवस्था, चुनौती र संरक्षणका उपायबारे चर्चा गरेका हुन्। कार्यक्रम ‘साहित्यको विकास, विस्तार र समाजसेवामा समर्पित’ भन्ने नारासहित आयोजना गरिएको थियो।
कार्यक्रममा वीरगञ्जका सामुदायिक तथा संस्थागत विद्यालय र कलेजमा नेपाली विषय अध्यापन गराउने शिक्षक–शिक्षिकाहरूले आफ्नो शिक्षण अनुभव आदानप्रदान गरेका थिए। सहभागी शिक्षकहरूले यस क्षेत्रको मातृभाषा मुख्यतः भोजपुरी भएकाले विद्यार्थीहरूलाई नेपाली भाषाको शुद्ध उच्चारण, शब्दार्थ तथा भाषिक संरचना सिकाउन व्यावहारिक कठिनाइ हुने गरेको अनुभव सुनाए।
उनीहरूले नेपाली भाषा र साहित्यको विकासका लागि विद्यालयको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै घरपरिवारमा नेपाली भाषाको प्रयोग र समाजमा साहित्यिक गतिविधिको विस्तार आवश्यक रहेको धारणा व्यक्त गरे।
समितिका वरिष्ठ उपाध्यक्ष प्रमोद पाण्डे ‘हेरम्ब’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार गणेशप्रसाद लाठ, साहित्यिक चौतारी नेपालकी केन्द्रीय अध्यक्ष गीता भण्डारी, ठाकुरराम बहुमुखी क्याम्पसका नेपाली विभाग प्रमुख ईन्द्रप्रसाद भट्टराई, बिपिसी कलेजका प्रिन्सिपल डा. बासुदेव कर्ण, भोजपुरी प्रतिष्ठान वीरगञ्जकी अध्यक्ष अनिता साह तथा नारायणी वाङ्मय प्रतिष्ठानका सचिव महेशचन्द्र गौतमलगायतले मन्तव्य व्यक्त गरेका थिए।
वक्ताहरूले नेपाली भाषाको संरक्षण, अध्ययन–अध्यापनको प्रभावकारिता तथा साहित्यिक सिर्जनशीलता प्रवर्द्धनका विषयमा आ–आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा संस्थाकी उपाध्यक्ष सुशिला भण्डारी, कार्यसमिति सदस्य अजमत अली अन्सारी, उमेश अवस्थी आदर्श र अस्मिता पटेललगायतले कविता तथा साहित्यिक रचनाहरू वाचन गरेका थिए।
साहित्यिक चौतारी नेपाल मधेश प्रदेशकी सहसचिव प्रिया मिश्रले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव सूर्य शुभचिन्तकले गरेका थिए।