वीरगञ्ज, असार २० – “खाद्य सुरक्षा, सबैको व्यवसाय” भन्ने नारासहित खाद्य पदार्थ आयातकर्ता तथा निर्यातकर्तालाई लक्षित गरी खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाडौंको आयोजनामा तथा वीरगञ्ज उद्योग वाणिज्य संघ, पर्साको सहकार्यमा वीरगञ्ज उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाडौंका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत भिमप्रसाद पुलामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा वीरगञ्ज भन्सार कार्यालय, पर्साका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनाली सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतम, भन्सार एजेन्ट महासंघ नेपालका अध्यक्ष काशिराज उपाध्याय, उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय सदस्य अजित भुजेल, प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र, पर्साका कार्यालय प्रमुख कुलदीप घिमिरे, पशु क्वारेन्टाइन कार्यालय वीरगञ्जका डा. राकेश मोहन सिंह, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, वीरगञ्जका प्रमुख सुरेशकुमार सिंह, खाद्य अनुसन्धान अधिकृत भेषबहादुर थापा, वीरगञ्ज भन्सार एजेन्ट संघ, पर्साका अध्यक्ष राजमान तामाङलगायत आयातकर्ता, निर्यातकर्ता, उद्योगी–व्यवसायी, भन्सार एजेन्ट प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण महर्जनले खाद्य पदार्थ आयात तथा निर्यात गर्दा अपनाउनुपर्ने खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उहाँले खाद्य पदार्थको निर्यात सहजीकरण, अनुगमन तथा निरीक्षण, खाद्य व्यवसायीको दायित्व, खाद्यसम्बन्धी निषेधित कार्य तथा प्रमुख भन्सार नाकाहरूका विषयमा जानकारी गराउनुभएको थियो।
कार्यक्रमको उद्देश्यबारे काशिनाथ घिमिरेले प्रकाश पार्दै स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
सो अवसरमा व्यवसायीहरूले भन्सार प्रक्रिया, खाद्य प्रयोगशाला परीक्षण तथा आयातित खाद्य सामग्रीको परीक्षणमा हुने ढिलाइका कारण व्यवसायमा समस्या भइरहेको गुनासो गरेका थिए। खाद्य ल्याब परीक्षण बिना भन्सार प्रक्रिया अघि नबढ्ने, छिट्टै बिग्रिने खाद्य सामग्रीको परीक्षण प्रतिवेदन ढिलो आउने तथा त्यसबाट आर्थिक नोक्सानी व्यहोर्नुपरेको उनीहरूको भनाइ थियो।
व्यवसायीहरूले छिट्टै बिग्रिने खाद्य पदार्थलाई प्राथमिकतामा राखी परीक्षण तथा भन्सार प्रक्रिया छिटो र सहज बनाउन सम्बन्धित निकायसँग माग गरेका थिए।
कार्यक्रमका वक्ताहरूले खाद्य पदार्थ आयात गर्नुअघि नै त्यसको स्वच्छता, गुणस्तर तथा उपयुक्तताको परीक्षण गराउनुपर्नेमा जोड दिएका थिए। साथै, सम्बन्धित कम्पनीको गुणस्तर परीक्षण तथा विश्लेषण प्रतिवेदन अध्ययन गरेर मात्र खाद्य सामग्री आयात गर्दा व्यवसायीलाई सहज हुने र जोखिमसमेत कम हुने धारणा व्यक्त गर्दै सबै व्यवसायीलाई सचेत र जिम्मेवार भएर काम गर्न आग्रह गरेका थिए।