बजारमा फलफूलको जुसका नाममा रसबिनै पेय पदार्थ बिक्री गर्ने तथा अखाद्य रसायन प्रयोग गरी खाद्य सामग्री उत्पादन गर्ने उद्योग र रेस्टुरेन्टमाथि कारबाही गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले गरेको अनुगमनका क्रममा झापाको अर्जुनधारा–५ स्थित फ्रुट एग्रो प्रोडक्ट प्रालि ले उत्पादन गरेको ‘ओआरए’ ब्रान्डको म्यांगो ड्रिंक र अरेन्ज ड्रिंकमा सरकारले तोकेको न्यूनतम मापदण्ड पूरा नभएको पाइएको हो।
सरकारले यस्ता पेय पदार्थमा कम्तीमा १० प्रतिशत फलफूलको रस अनिवार्य हुनुपर्ने व्यवस्था गरे पनि उक्त उद्योगले रसबिनाकै पेय पदार्थ उत्पादन तथा बिक्री गर्दै आएको भेटिएको कार्यालयले जनाएको छ।अनुगमन टोलीले मापदण्डविपरीत उत्पादन गरिएका ४ सय ९८ कार्टुन म्यांगो ड्रिंक र २ सय ५० कार्टुन अरेन्ज ड्रिंक गरी कुल ४ लाख ९२ हजार १ सय ३२ रुपैयाँ बराबरका पेय पदार्थ सम्बन्धित निकायको रोहबरमा नष्ट गरेको छ।
यस्तै, विराटनगरस्थित मिथिला थाली विराटनगर प्रालि मा गरिएको निरीक्षणका क्रममा मिठाई बनाउन अखाद्य वस्तु ‘हाइड्रो’ तथा कृत्रिम अखाद्य रङ प्रयोग गरिएको पाइएको छ। साथै, भण्डारण कक्षमा म्याद गुज्रिएका खाद्य सामग्री भेटिनुका साथै भान्साको सरसफाइ अवस्था पनि अत्यन्त कमजोर रहेको अनुगमन टोलीले जनाएको छ।
टोलीले रेस्टुरेन्टबाट अखाद्य वस्तु प्रयोग गरी बनाइएको करिब ५ किलो मिठाई, म्याद नाघेका खाद्य सामग्री, हाइड्रो तथा कृत्रिम रङ जफत गरी नष्ट गरेको छ। साथै भविष्यमा अखाद्य पदार्थ प्रयोग नगर्न र भान्साको संरचना तथा सरसफाइमा तत्काल सुधार गर्न निर्देशन दिइएको छ।
यसैबीच, विराटनगर–८ मा सञ्चालित हाम्रो मिथिला किचन ९क्लाउड किचन० मा पनि खाद्य सुरक्षासम्बन्धी मापदण्ड पालना नभएको पाइएको छ। अनुगमनका क्रममा ढोकामा जाली नराखिएको, फ्रिजभित्र खाद्य सामग्री खुला अवस्थामा भण्डारण गरिएको तथा आवश्यक सरसफाइको अभाव रहेको भेटिएको हो।
उक्त किचनलाई स्टेनलेस स्टिलका भाँडा प्रयोग गर्न, जालीयुक्त ढोका जडान गर्न तथा पर्याप्त प्रकाशको व्यवस्था गर्न निर्देशन दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ।
कार्यालयले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित खाद्य वस्तुमा गुणस्तरहीन सामग्री प्रयोग गर्ने उद्योग तथा व्यवसायमाथि अनुगमनलाई थप कडाइ गरिने जनाएको छ।
अनलाईन खबर