१२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बारा जिल्लाको परवानीपुर गाउँपालिका मा “स्वस्थ वृद्धावस्थाका लागि योग” भन्ने मूल नारासहित विशेष योग कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
परवानीपुर गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्र को आयोजनामा तथा गाउँपालिकाको सहयोग र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय चैनपुर को सहकार्यमा विद्यालय परिसरस्थित मन्दिर प्राङ्गणमा कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा नागरिक आरोग्य सेवा केन्द्रकी प्रमुख वैद्य नीलमकुमारीको अध्यक्षता रहेको थियो भने भारतीय महावाणिज्य दूतावास वीरगञ्ज का महावाणिज्यदूत देवी शाह मिना प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। त्यस्तै गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा वडा नं। ४ का वडा अध्यक्ष गम्भीरा राउत कुर्मी, प्रमुख प्रशासकीय अधिकृत मुन्ना शाह रौनियार, स्वास्थ्य शाखा प्रमुख मनिष मिश्रा, विद्यालयका प्रधानाध्यापक मदनप्रसाद कुर्मी, स्थानीय राजनीतिक तथा सामाजिक व्यक्तित्वहरू, शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
योग प्रशिक्षण वैद्य नीलमकुमारीले प्रदान गरेकी थिइन्। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न योगासनको आकर्षक प्रदर्शन गर्दै योगको महत्व र प्रभावकारिता प्रस्तुत गरेका थिए। सामूहिक योग अभ्यासमार्फत सहभागीहरूले स्वस्थ जीवनशैली अपनाउन योग अपरिहार्य रहेको सन्देश दिएका थिए।
वक्ताहरूले नियमित योग अभ्यासले शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ गर्नुका साथै तनाव व्यवस्थापन, रोग प्रतिरोधात्मक क्षमता वृद्धि र दीर्घायु जीवनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।
योग दिवसको अवसरमा विद्यार्थीदेखि ज्येष्ठ नागरिकसम्मको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप प्रेरणादायी र प्रभावकारी बनाएको आयोजकले जनाएको छ।