मधेश प्रदेश मिडिया काउन्सिलका सदस्य तथा सप्तरीको कञ्चनरूप नगरपालिका–८ निवासी पत्रकार मन्नु पासमानका पिता महावीर पासमानको ७९ वर्षको उमेरमा निधन भएको छ। उहाँको निधनप्रति विभिन्न व्यक्तित्व तथा संस्थाहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
मधेश प्रदेश मिडिया काउन्सिलकी कार्यवाहक अध्यक्ष बन्दना झाले शोक वक्तव्य जारी गर्दै महावीर पासमानको निधनको खबरले आफू अत्यन्त दुःखी र स्तब्ध भएको बताएकी छन्। उनले स्वर्गीय पासमानप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेकी छन्। साथै, शोकसन्तप्त परिवारजनलाई यस पीडादायी क्षण सहन गर्ने धैर्य, शक्ति र साहस प्राप्त होस् भनी परमेश्वरसँग प्रार्थना गरेकी छन्।
यसैगरी, चलचित्र तथा लोक सञ्चार प्रवर्द्धन बोर्ड, मधेश प्रदेशका सदस्य राम स्वागत चौधरीले पनि महावीर पासमानको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले जारी गरेको शोक सन्देशमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।
चौधरीले यस दुःखद् घडीमा परिवारलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी भगवानसँग प्रार्थना गर्दै स्वर्गीय महावीर पासमानप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
यस्तै, मधेश प्रदेश मिडिया काउन्सिलले पनि एक शोक सन्देश जारी गर्दै स्वर्गीय महावीर पासमानप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको तथा शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको जनाएको छ।
महावीर पासमानको निधनले परिवारका साथै सञ्चार क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूलाई समेत मर्माहत बनाएको छ। उहाँप्रति व्यक्त गरिएका श्रद्धाञ्जली तथा समवेदनाले उहाँप्रतिको सम्मान र योगदानको स्मरण गराएको छ।