गौतम माध्यमिक विद्यालयमा गत शैक्षिक वर्षमा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका प्रतिभाशाली विद्यार्थीहरूलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले आयोजित ‘विद्यार्थी उपलब्धि सम्मान समारोह’ सम्पन्न भएको छ।
विद्यालयले शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्ने उद्देश्यले नर्सरीदेखि कक्षा ९ सम्म उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको हो। सम्मानित विद्यार्थीहरूलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गर्दै आगामी दिनमा पनि निरन्तर मेहनत, अनुशासन र लगनशीलताका साथ अध्ययनमा लाग्न प्रेरित गरिएको थियो।
समारोहको अध्यक्षता विद्यालयकी म्यानेजिङ डाइरेक्टर परीक्षा पिया लामाले गरेकी थिइन्। कार्यक्रममा प्रमुख अतिथिका रूपमा विद्यालयका पूर्वविद्यार्थी तथा हाल नारायणी अस्पतालमा कार्यरत डा. सफ्रोज अन्सारी तथा विशेष अतिथिका रूपमा सोनम लामाको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अतिथिहरूले विद्यार्थीहरूको मेहनत, अनुशासन, लगनशीलता तथा निरन्तर प्रयासको प्रशंसा गरेका थिए। उनीहरूले यस्ता उपलब्धिले विद्यालय, अभिभावक तथा समग्र समाजलाई गर्वान्वित बनाउने उल्लेख गर्दै विद्यार्थीहरूलाई आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्दै आफ्नो लक्ष्यतर्फ निरन्तर अग्रसर हुन शुभकामना व्यक्त गरे।
विद्यालयका प्रिन्सिपल गणेश क्षेत्रीले विद्यालयले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा विशेष जोड दिँदै आएको बताए। उनले यस्ता सम्मान कार्यक्रमले विद्यार्थीहरूमा थप उत्साह, आत्मविश्वास तथा स्वस्थ प्रतिस्पर्धात्मक भावना विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा विद्यालयका रमेश शर्मा, ललित कर्ण, सौराज प्रधान, सिपेन्द्र गुप्तालगायत शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समारोहमा सम्मानित विद्यार्थीहरूको उपलब्धिको प्रशंसा गर्दै विद्यालय परिवारले सबै विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको थियो। विद्यालयका अनुसार कार्यक्रम उत्साहपूर्ण तथा प्रेरणादायी वातावरणमा सम्पन्न भएको हो।