११ असार, काठमाडौँ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अर्को सूचना नभएसम्मका लागि निलम्बन गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आन्तरिक मामिलामा तेस्रो पक्ष (सरकार) ले अनावश्यक हस्तक्षेप गरेको निष्कर्ष निकाल्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नेपालमाथि प्रतिबन्ध लगाउने निर्णय लिएको हो ।
एन्फाका महासचिव किरण राईले फिफाबाट नेपाललाई निलम्बन गरिएको पत्र प्राप्त भएको पुष्टि गरेका छन् । उनका अनुसार आज बिहान मात्रै फिफाको औपचारिक पत्र एन्फा सचिवालयमा आइपुगेको हो ।
फिफा काउन्सिल ब्युरोको बुधबार बसेको बैठकले फिफा विधानको धारा १६ बमोजिम एन्फालाई तत्काल लागू हुने गरी निलम्बन गर्ने निर्णय गरेको हो । फिफाले आफ्ना सदस्य सङ्घहरू पूर्ण रूपमा स्वायत्त हुनुपर्ने र त्यसमा सरकारी वा राजनीतिक हस्तक्षेप नहुने प्रावधानलाई कडाइका साथ पालना गराउँदै आएको छ ।
यो निलम्बनसँगै एन्फाले फिफा विधानको धारा १३ अन्तर्गत पाउने सम्पूर्ण सदस्यता अधिकार र सुविधाहरू तत्कालका लागि गुमाएको छ ।
फिफाको यो निर्णयले नेपाली फुटबललाई अन्तर्राष्ट्रिय मञ्चबाट अलग गरिदिएको छ। फिफाका अनुसार निलम्बन कायम रहुञ्जेल नेपालको राष्ट्रिय पुरुष तथा महिला फुटबल टोली, उमेर समूहका टोलीहरू र नेपाली घरेलु लिगका क्लब टोलीहरूले कुनै पनि किसिमका अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल तथा आधिकारिक प्रतियोगिताहरूमा सहभागिता जनाउन पाउने छैनन् ।
यसका साथै, फिफा र एसियाली फुटबल महासंघ (एएफसी) बाट नेपालले पाउँदै आएको वार्षिक आर्थिक अनुदान र प्राविधिक सहयोगसमेत पूर्ण रूपमा रोकिनेछ । सरकार र फुटबल नेतृत्वबीचको खिचातानी र समन्वय अभावका कारण देशको खेलकुदले नै अन्तर्राष्ट्रिय स्तरमा अपमान भोग्नुपरेको भन्दै खेल प्रेमी र खेलाडीहरूले यस कदमप्रति गम्भीर चिन्ता र आक्रोश व्यक्त गरेका छन् ।