हैजाजस्ता जलजन्य तथा सरुवा रोगको सम्भावित जोखिम न्यूनीकरण तथा प्रभावकारी प्रतिकार्यका लागि पूर्वतयारी सुदृढ बनाउने उद्देश्यले वीरगञ्जमा बिहिबार देखि दुईदिने कार्यशाला सुरु भएको छ।
नारायणी अस्पतालको आयोजना तथा अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (IFRC) र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा बिहीबारदेखि वीरगञ्जस्थित होटल क्लार्क रिसोर्ट गण्डकमा कार्यशाला सुरु भएको हो।
कार्यशालाको उद्देश्य हैजालगायत सरुवा रोगको सम्भावित प्रकोपको जोखिम न्यूनीकरण गर्न पूर्वतयारीलाई सुदृढ बनाउनु, विगतका अनुभव तथा सिकाइको आदानप्रदान गर्नु र प्रभावकारी प्रतिकार्यका लागि सरोकारवाला निकायबीच समन्वय अभिवृद्धि गर्नु रहेको छ।
कार्यशालाको अध्यक्षता नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चितरञ्जन साहले गरेका थिए भने प्रमुख अतिथिका रूपमा अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (IFRC) का नेपाल प्रतिनिधि डेभिड सिर्स सहभागी थिए।कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा, नेपाल रेडक्रस सोसाइटीकी कार्यकारी निर्देशक मोना अर्याल, नेपाल रेडक्रस सोसाइटी मधेश प्रदेशका अध्यक्ष फुल मोहम्मद मियाँ, खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रतिनिधि रचित ओझालगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी, नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज शाखाका सभापति बृजकिशोर पटेलसहित विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, चिकित्सक तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले हैजालगायत जलजन्य तथा सरुवा रोगहरूको जोखिम अझै कायम रहेकाले समयमै पूर्वतयारी, जनचेतना अभिवृद्धि, सुरक्षित खानेपानीको सुनिश्चितता तथा स्वास्थ्य संस्थाहरूको क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने बताएका थिए।
उनीहरूले महामारी नियन्त्रणका लागि सरकारी निकाय, स्वास्थ्य संस्था, रेडक्रस तथा समुदायबीचको समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए। साथै, विगतमा हैजा नियन्त्रणका क्रममा प्राप्त अनुभव, चुनौती तथा सफल अभ्यासहरूको समीक्षा गर्दै आगामी दिनमा अझ प्रभावकारी रणनीति निर्माण गर्न कार्यशाला उपयोगी हुने विश्वास व्यक्त गरिएको थियो।
दुई दिनसम्म सञ्चालन हुने कार्यशालामा हैजा नियन्त्रण तथा व्यवस्थापन, आपतकालीन स्वास्थ्य तयारी, समुदायस्तरको सचेतना, खानेपानी तथा सरसफाइ व्यवस्थापन, बहुपक्षीय समन्वय तथा महामारी प्रतिकार्यसम्बन्धी विषयमा प्रस्तुति, छलफल तथा अनुभव आदानप्रदान गरिने जनाइएको छ।