बारा । "स्थानीय स्वामित्व र सहभागितापूर्ण खोप सुनिश्चितता र दिगोपना हाम्रो प्रतिबद्धता" भन्ने मूल नारासहित बाराको महागढीमाई नगरपालिकालाई आर्थिक वर्ष २०८२/०८३ का लागि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ।
नगरपालिकाको सभाहलमा आयोजित घोषणा सभामा नगर उपप्रमुख तारा देवी कानुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा नगर उपप्रमुख कानुले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्दै महागढीमाई नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरेकी हुन्।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भेषराज रिजाल, स्वास्थ्य शाखा प्रमुख विजय कुशवाहा, जिल्ला स्वास्थ्य कार्यालय बाराका जनस्वास्थ्य प्रशासक चेतराज पण्डित, जनस्वास्थ्य निरीक्षक मनोज चौरसिया, वडा नं. ५ का वडा अध्यक्ष तथा नगर प्रवक्ता गजेन्द्र कुमार जयसवाल, वडा नं. ६ का वडा अध्यक्ष गेनालाल यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत जगन्नाथ जयसवाल, लेखा प्रमुख छोटेबाबु यादव, शिक्षा शाखा प्रमुख रामविश्वास चौरसिया लगायत नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरूको उपस्थिति रहेको थियो।
सो अवसरमा नगरपालिकाभित्र रहेका खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरी उत्कृष्ट कार्यसम्पादन गरेका स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो। नगर उपप्रमुख तारा देवी कानु, प्रमुख प्रशासकीय अधिकृत भेषराज रिजाल तथा स्वास्थ्य शाखा प्रमुख विजय कुशवाहाले सम्मानपत्र प्रदान गरेका थिए।
घोषणा सभामा नगरपालिकाभित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, एएनएमी, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन शिवशंकर प्रसाद यादवले गरेका थिए।