राष्ट्रिय धान दिवस २०८३ को अवसरमा रोयल एकेडेमीले ‘भ्वाइस अफ द फार्मर्स’ शीर्षकको विशेष विद्यार्थी–केन्द्रित कार्यक्रम सञ्चालन गरेको छ। विद्यार्थीहरूद्वारा विद्यार्थीहरूकै लागि सञ्चालन गरिएको उक्त कार्यक्रममार्फत कृषि र किसानका वास्तविक समस्याबारे प्रत्यक्ष जानकारी लिने प्रयास गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले स्थानीय किसानहरूसँग प्रत्यक्ष संवाद गर्दै खेतीपातीमा देखिएका चुनौती, जलवायु परिवर्तनको प्रभाव, बढ्दो उत्पादन लागत, मल वितरणको समस्या, सिँचाइ अभाव तथा किसानमैत्री नीतिको कार्यान्वयनका विषयमा जानकारी संकलन गरेका थिए।
किसानहरूसँग गरिएको अन्तरक्रियामार्फत विद्यार्थीहरूले पाठ्यपुस्तकभन्दा बाहिरको व्यावहारिक ज्ञान हासिल गरेका थिए। कार्यक्रममा सहभागी किसानहरूले कृषि क्षेत्रका वर्तमान चुनौती तथा सम्भावनाबारे आफ्ना अनुभवसमेत साझा गरेका थिए।
विद्यालयका अनुसार यस कार्यक्रमले विद्यार्थीहरूमा कृषि क्षेत्रप्रतिको सम्मान, किसानको योगदानप्रतिको संवेदनशीलता तथा सामाजिक उत्तरदायित्वको भावना विकास गर्न सहयोग पुर्याएको छ।
कार्यक्रमका क्रममा विद्यार्थीहरूले प्रत्येक दानाको पछाडि किसानको अथक मेहनत र समर्पण रहेको सन्देश आत्मसात् गर्दै राष्ट्रको खाद्य सुरक्षामा किसानको भूमिकालाई अझ गहिरो रूपमा बुझ्ने अवसर प्राप्त गरेका थिए।
विद्यालयले यस्ता कार्यक्रममार्फत विद्यार्थीहरूलाई समाजका वास्तविक मुद्दासँग जोड्दै नेतृत्व, अनुसन्धान तथा संवाद क्षमताको विकास गर्न निरन्तर प्रयास गर्दै आएको जनाएको छ।