सामाजिक कार्यकर्ता, लायन्स क्लब अफ रक्सौलका अध्यक्ष, भारत विकास परिषद् रक्सौलका सेवा संयोजक तथा मिडिया इन्चार्ज बिमल सर्राफले सकारात्मक सोच, आत्मसुधार र जीवनप्रतिको सही दृष्टिकोण नै सफलताको आधार भएको बताएका छन्।
प्रेससँग कुरा गर्दै उनले मानिसले आफ्नो बारेमा नकारात्मक सोच त्यागेर आत्मविश्वासका साथ अघि बढ्नुपर्ने बताए। उनले भने, “संसारले के भन्छ भन्नेभन्दा पनि आफूलाई कसरी विकास गर्ने भन्नेमा ध्यान दिनुपर्छ। अनभिज्ञ व्यक्तिका लागि हीरा पनि काँचको टुक्रा जस्तै देखिन सक्छ।”
सर्राफका अनुसार जीवन एउटा साधारण परीक्षा हो, तर धेरै मानिस अरूको नक्कल गर्न खोज्दा आफ्नो मौलिकता गुमाएर असफल हुने गर्छन्। उनले आफ्ना गल्तीबाट सिक्दै निरन्तर आत्मसुधारमा लाग्नुपर्नेमा जोड दिए।
उनले धन–सम्पत्ति मात्र सुखको आधार नभएको उल्लेख गर्दै मनको शान्ति, सन्तुष्टि र आनन्द नै जीवनका सबैभन्दा ठूलो सम्पत्ति भएको बताए। “संसारमा जतिसुकै मूल्यवान वस्तु भए पनि निद्रा, आनन्द र मानसिक शान्तिभन्दा ठूलो सम्पत्ति केही हुन सक्दैन,” उनले भने।
सर्राफले अरूको आलोचना गर्नुभन्दा आत्मसुधारमा समय खर्चिनुपर्ने सुझाव दिँदै सकारात्मक सोच, इमानदारी र आत्मविश्वासले नै जीवनलाई सफल र सार्थक बनाउने धारणा व्यक्त गरे।