१७ असार, काठमाडौँ । मुख्य बाली धान रोप्ने र गोडमेल गर्ने चटारोका बीच कृषि, वन तथा पर्यावरण मन्त्रालयले किसानलाई ठुलो राहत दिने तयारी गरेको छ । मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने अन्तिम तयारी गरेको हो ।
धान खेतीका लागि आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्दै किसानको चिन्ता सम्बोधन गर्न मन्त्रालयले विभिन्न माध्यमबाट आयात प्रक्रियालाई तीव्रता दिएको जनाएको छ । मध्यपूर्वी देशहरूमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा मलको उपलब्धता घटे पनि नेपाली किसानलाई अभाव हुन नदिन मन्त्रालयले कूटनीतिक र व्यापारिक दुवै च्यानल परिचालन गरेको छ ।
मन्त्रालयका अनुसार भारत सरकारसँगको (जीटूजी) सम्झौता र अन्तर्राष्ट्रिय (ग्लोबल) टेन्डरलाई मल आपूर्तिको मुख्य स्रोत बनाइएको छ ।
भारतसँगको जीटूजी सम्झौतास् जीटूजी अन्तर्गत भारतबाट ८० हजार मेट्रिक टन मल ल्याउने सम्झौता भएकोमा पहिलो चरणको ५० हजार मेट्रिक टन साउन दोस्रो साता नेपाल भित्रिनेछ। यसबाहेक थप ३ण् हजार मेट्रिक टन युरिया मल असार अन्तिमदेखि साउनको दोस्रो साताभित्र नेपाल आइपुग्ने मन्त्रालयको भनाइ छ ।
अन्तर्राष्ट्रिय (ग्लोबल)टेन्डरस् ग्लोबल टेन्डरमार्फत कुल १ लाख ८० हजार मेट्रिक टन रासायनिक मल आयात गरिँदैछ। जसमा ६० हजार मेट्रिक टन डीएपी र १ लाख २० हजार मेट्रिक टन युरिया रहेको छ। यो मल साउनको पहिलो सातासम्म नेपाल भित्रिने लक्ष्य राखिएको छ ।
मल आपूर्तिका लागि कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले विभिन्न देशहरूबाट सिपमेन्ट र लोडिङको काम द्रुत गतिमा अघि बढाएका छन्।
ओमन र कतारस् ओमनमा लोडिङको प्रक्रियामा रहेको ३० हजार मेट्रिक टन युरिया असार अन्तिमसम्म कोलकाता आइपुग्ने र साउन दोस्रो साता नेपाल भित्रिनेछ। कतारबाट पनि ३० हजार मेट्रिक टन युरिया सिपमेन्ट भइसकेको र असार अन्तिम साता कोलकाता आइपुग्ने कृषि सामग्री कम्पनीले जनाएको छ।
साउदी अरेबिया र भियतनामस् साउदी अरेबियाबाट ३० हजार मेट्रिक टन युरिया लोड भई असार अन्तिम सातासम्म कोलकाता आइपुग्दैछ। यस्तै, भियतनामबाट ३० हजार मेट्रिक टन डीएपी मल लोड भई असार अन्तिम सातासम्म कोलकाता आइपुग्ने र साउन दोस्रो साता नेपाल भित्रिनेछ।
साल्ट ट्रेडिङको ढुवानीस् साल्ट ट्रेडिङ कर्पोरेशनका अनुसार ३० हजार मेट्रिक टन डीएपी होर्मुज पार भई विशाखापट्टनम पोर्टमा पुगिसकेको र असार १९ देखि २० गतेभित्रै नेपाल आइपुग्नेछ। अर्को ३० हजार मेट्रिक टन युरिया मल जहाजमा लोड भइसकेको र साउन पहिलो साता कोलकाता हुँदै साउन अन्तिमसम्म नेपाल आइपुग्नेछ।
अन्तर्राष्ट्रिय बजारमा देखिएका अनेकौँ प्रतिकूलताका बाबजुद कृषि, वन तथा पर्यावरण मन्त्रालयले यो वर्ष मलको संकट हुन नदिने प्रतिबद्धता जनाएको छ। मन्त्रालयले चालु आर्थिक वर्षमा कुल ६ लाख मेट्रिक टन रासायनिक मल कृषकहरूलाई अनुदानमा उपलब्ध गराउने बृहत् लक्ष्य राखेको छ। साउनभित्रै ठुलो परिमाणमा मल भित्रिने सुनिश्चितता भएसँगै यो वर्ष धानको उत्पादनमा वृद्धि हुने र किसानले विगतका वर्षहरू जस्तो सास्ती भोग्नु नपर्ने विश्वास मन्त्रालयको छ।