चितवन राष्ट्रिय निकुञ्जभित्र सञ्चालन हुँदै आएको जङ्गल सफारी सेवा आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ।
वर्षायामका कारण पर्यटकको सुरक्षा र वन्यजन्तुको संरक्षणलाई ध्यानमा राख्दै निकुञ्जले सफारी सेवा स्थगित गरेको हो।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथ बिग्रिने, खोलाखोल्सीमा आकस्मिक भलबाढी आउने तथा रुख ढलेर बाटो अवरुद्ध हुने जोखिम बढ्ने भएकाले सफारी सेवा रोकिएको हो।
उनका अनुसार वर्षायाम वन्यजन्तु तथा चराचुरुङ्गीहरूको प्रजननका लागि पनि उपयुक्त समय भएकाले उनीहरूको प्राकृतिक गतिविधिमा असर नपरोस् भन्ने उद्देश्यले हरेक वर्ष यस अवधिमा सफारी बन्द गर्ने गरिएको छ।
निकुञ्ज प्रशासनले मौसम र वनपथको अवस्था सुधारिएपछि, सामान्यतया दसैँ आसपास, जङ्गल सफारी सेवा पुनः सञ्चालनमा ल्याइने जनाएको छ।
यद्यपि, निकुञ्जभित्रको सफारी बन्द भए पनि सामुदायिक वन क्षेत्रमा सञ्चालन हुने जीप सफारी भने यथावत् रहने सूचना अधिकारी थापामगरले जानकारी दिए।
चितवनको सौराहा, कसरा, मेघौली, माडी तथा नवलपरासीका विभिन्न क्षेत्रबाट दैनिक रूपमा जीप सफारी सञ्चालन हुँदै आएको छ। जङ्गल भ्रमणका क्रममा पर्यटकहरूले दुर्लभ वन्यजन्तु, चराचुरुङ्गी तथा प्राकृतिक सौन्दर्य अवलोकन गर्दै सफारीको अनुभव लिने गरेका छन्।