वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका निलम्बित नगरप्रमुख राजेशमान सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान तथा कारबाही प्रक्रियाविरुद्ध दायर गरेको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
नागरिकता किर्ते तथा भ्रष्टाचार मुद्दामा मुछिएका सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विशेष अदालत र वीरगञ्ज महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयलाई विपक्षी बनाउँदै असार ८ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
रिटमा आफूविरुद्ध अन्यायपूर्ण रूपमा मुद्दा दायर गरिएको जिकिर गर्दै अनुसन्धान तथा कारबाही प्रक्रिया रोक्न अन्तरिम आदेश जारी गर्न र पुनः नगरप्रमुखको हैसियतमा काम गर्न पाउने व्यवस्था मिलाउन माग गरिएको छ।
यसअघि असार १५ गतेका लागि तोकिएको सुनुवाइ समय अभावका कारण ‘हेर्न नभ्याइने’ सूचीमा परेपछि अदालतले आजका लागि नयाँ पेसी तोकेको हो।
अख्तियारले गत जेठ २५ गते सिंहसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेसँगै प्रचलित कानुनी व्यवस्थाअनुसार उनी स्वतः निलम्बनमा परेका थिए। भ्रष्टाचार मुद्दा दायर भएका निर्वाचित जनप्रतिनिधिले मुद्दाको अन्तिम टुंगो नलागेसम्म पदको अधिकार प्रयोग गर्न नपाउने कानुनी व्यवस्था छ।
यसअघि सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले तत्काल अन्तरिम आदेश दिनुपर्ने पर्याप्त आधार नदेखिएको ठहर गर्दै विपक्षी पक्षलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो।
आजको सुनुवाइपछि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा निर्णय लिन सक्ने भएकाले यसलाई वीरगञ्ज महानगरको नेतृत्व र स्थानीय राजनीतिको दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।