काठमाडौं — नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। उक्त रिट न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा पेशीका लागि तोकिएको छ।
सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी दोमाया पौडेलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्।
यसअघि असार १६ गते न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासले थप कागजात झिकाउन आदेश दिएको थियो।
सम्पत्ति शुद्धीकरण कसूरको अनुसन्धानका क्रममा पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। हाल उनी सानेपास्थित प्रहरी हिरासतमा छन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई सुर्खेतबाट काठमाडौं ल्याएर अनुसन्धान अघि बढाएको हो। अनुसन्धानका लागि विशेष अदालतले सोमबार थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। यसअघि अदालतले सात दिनको म्याद दिएको थियो।
विशेष अदालतका अनुसार श्रीराम टोबाको प्रालिको २० प्रतिशत सेयर हिमालयन एसेट म्यानेजमेन्ट प्रालिले खरिद गरेको विषयमा भइरहेको अनुसन्धानका क्रममा पौडेल पक्राउ परेका हुन्। विवरणअनुसार हिमालयन एसेट म्यानेजमेन्टमा इन्फिनिटी होल्डिङ्सको शतप्रतिशत लगानी रहेको छ।
यसअघि व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर गर्दा विभागले हिमालयन एसेट म्यानेजमेन्टको लगानी र कारोबारमाथि पनि प्रश्न उठाएको थियो। कम्पनीको वास्तविक स्वामित्व, लगानीको स्रोत तथा वित्तीय कारोबारबारे अनुसन्धान जारी रहेको जनाइएको छ।
अनुसन्धानका क्रममा व्यवसायी कमलकिशोर मालपानी र चुन्नप्रसाद शर्माले पूर्वअर्थमन्त्री पौडेलको दबाबका कारण आफूहरूले श्रीराम टोबाकोको सेयर व्यवसायी दीपक भट्टलाई कम मूल्यमा बिक्री गर्नुपरेको बयान दिएका थिए। सोही बयानका आधारमा पौडेल अनुसन्धानको दायरामा आएका हुन्।