फिफा विश्वकप २०२६ अन्तर्गत बुधबार राति र बिहीबार बिहान सम्पन्न नकआउट चरणका खेलमा इंग्ल्यान्ड, आयोजक संयुक्त राज्य अमेरिका (अमेरिका) र बेल्जियमले जित हात पार्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन्।
एटलान्टा स्टेडियममा भएको खेलमा इंग्ल्यान्डले डीआर कंगोलाई २–१ ले पराजित गर्यो। खेलको सातौं मिनेटमा ब्रायन चिपेङ्गाले गोल गर्दै कंगोलाई अग्रता दिलाएका थिए। तर कप्तान ह्यारी केनले ७५औं र ८६औं मिनेटमा लगातार दुई गोल गर्दै इंग्ल्यान्डलाई उत्कृष्ट पुनरागमनसहित जित दिलाए।
यस्तै, सान फ्रान्सिस्को बे एरिया स्टेडियममा आयोजक अमेरिकाले बोस्निया–हर्जगोभिनालाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनायो। पहिलो हाफको अतिरिक्त समयमा फोलारिन बालोगनले गोल गर्दै अमेरिकालाई अग्रता दिलाएका थिए। तर ६४औं मिनेटमा गम्भीर फल गरेपछि उनी सिधै रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए। १० खेलाडीमा सीमित भए पनि अमेरिकाले उत्कृष्ट प्रदर्शन कायम राख्यो र ८२औं मिनेटमा मलिक टिलम्यानले फ्रि(किकमार्फत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे।
यस जितसँगै अमेरिकाले विश्वकपको नकआउट चरणमा २४ वर्षपछि जित निकाल्न सफल भएको छ। अब क्वाटरफाइनल प्रवेशका लागि अमेरिकाले सियाटलमा बेल्जियमको सामना गर्नेछ।
उता, सियाटल स्टेडियममै भएको अर्को रोमाञ्चक खेलमा बेल्जियमले सेनेगललाई अतिरिक्त समयमा ३–२ ले हराउँदै अन्तिम १६ मा प्रवेश गर्यो। पहिलो हाफमा १–० को अग्रता बनाएको सेनेगलले दोस्रो हाफको सुरुवातमै अर्को गोल थप्दै २–० को अग्रता लिएको थियो। तर बेल्जियमले तीन मिनेटको अन्तरमा लगातार दुई गोल गर्दै खेल २–२ को बराबरीमा ल्यायो।
निर्धारित ९० मिनेटमा बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको अन्तिमतिर प्राप्त पेनाल्टीको अवसरलाई गोलमा परिणत गर्दै बेल्जियमले ३–२ को जित निकाल्यो। पराजयसँगै सेनेगलको विश्वकप यात्रा भने समाप्त भएको छ।