भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल प्रणालीमार्फत सञ्चालन गर्ने तयारी थालेको छ। सरुवा प्रक्रियालाई थप पारदर्शी, छिटो, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले नयाँ प्रणाली विकासको काम अघि बढाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार नयाँ प्रणाली कर्मचारीको डिजिटल प्रोफाइलमा आधारित हुनेछ। कर्मचारीका व्यक्तिगत तथा सेवासम्बन्धी विवरण सम्बन्धित प्रणालीसँग प्रत्यक्ष वा एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) मार्फत जोडिने भएकाले आवश्यक सूचना स्वतः अद्यावधिक हुनेछ।
सरुवाका लागि आवेदन दिने क्रममा विशेष ‘फ्ल्यागिङ सिस्टम’ प्रयोग गरिनेछ, जसले दोहोरिएका, विशेष निगरानी आवश्यक भएका वा थप परीक्षण गर्नुपर्ने आवेदनलाई स्वतः पहिचान गर्नेछ। साथै, कर्मचारीहरूले आफ्नो आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी ‘प्रोसेस ट्र्याकिङ सिस्टम’मार्फत अनलाइनबाटै हेर्न सक्नेछन्।
सरुवासम्बन्धी पत्राचार पनि प्रणालीबाटै स्वचालित रूपमा तयार हुनेछ। आवश्यकता अनुसार अन्य सम्बन्धित निकायका प्रणालीसँग एपीआईमार्फत सूचना आदान–प्रदान गर्न सकिने व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ। सरुवासम्बन्धी निर्णय तथा विवरण मन्त्रालयको वेबसाइटमा २४ घण्टाभित्र स्वतः सार्वजनिक गरिने व्यवस्था पनि रहनेछ।
भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले सरकारी कर्मचारी प्रशासनलाई पारदर्शी, उत्तरदायी र आधुनिक प्रविधिमा आधारित बनाउने सरकारको नीतिअनुसार यो प्रणालीलाई प्राथमिकताका साथ अघि बढाइएको बताइन्। उनका अनुसार प्रणाली कार्यान्वयनमा आएपछि सरुवा प्रक्रियामा हुने ढिलाइ कम हुने, पारदर्शिता बढ्ने र कर्मचारीले थप सहज तथा विश्वासयोग्य सेवा प्राप्त गर्नेछन्।