बारा, असार १८ — जिल्ला समन्वय समिति बाराको नवौँ जिल्ला सभा विहिबार सम्पन्न भएको छ। जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र कुमार साहको अध्यक्षतामा जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख साहले पानसमा दीप प्रज्वलन गरी सभाको उद्घाटन गरेका थिए।
सभामा प्रमुख साहले आर्थिक वर्ष २०८२/८३ का लागि जिल्ला समन्वय समितिको नीति तथा कार्यक्रम सभा समक्ष प्रस्तुत गरेका थिए। प्रस्तुत नीति तथा कार्यक्रममा जिल्लाको समग्र विकास, स्थानीय तहसँगको समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयलाई प्राथमिकता दिइएको बताइएको छ।
कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख चण्डिका उप्रेती, जिल्ला समन्वय अधिकारी विनय कुमार सोनु, शाखा अधिकृत वकिल प्रसाद पाल, सूचना अधिकारी अमित कुमार चौधरी तथा कार्यालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
त्यस्तै, जिल्लाभित्रका सबै स्थानीय तहका नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, जिल्ला समन्वय समितिका पदाधिकारी, जनप्रतिनिधि तथा सञ्चारकर्मीहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन सञ्चारकर्मी अनिल कुमार गौरवले गरेका थिए।