काठमाडौँ – कृषि, वन तथा वातावरण मन्त्रालयले बर्ड फ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रु ५० करोड निकासा गरेको छ । मन्त्रालयले प्रभावित किसानलाई क्षतिपूर्ति दिन रकमान्तर गरेर पशुसेवा विभागलाई उक्त रकम उपलब्ध गराएको हो ।
बर्ड फ्लु पुष्टि भएका ११ जिल्लामा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि उक्त रकम विभागलाई उपलब्ध गराएको हो । बर्ड फ्लुबाट आर्थिक नोक्सानी बेहोरेका किसानलाई राहतस्वरुप क्षतिपूर्ति वितरण गर्न विभागले मन्त्रालयसँग रकम माग गरेको थियो ।
विभागका अनुसार निकासा भएको रकम पीडित किसानलाई क्षतिको ७५ प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराइने छ।
बर्ड फ्लु सङ्क्रमण काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा करिब सात लाख पन्छी, ११ लाख अण्डा र तीन लाख किलो दाना नष्ट गरिएको हो । यसबाट रु ७० करोड बराबरको क्षति भएको हो।
बर्ड फ्लु रोग नियन्त्रण ९चौथो संशोधन० २०७४ अनुसार प्रमाणित क्षतिको विवरणका आधारमा नष्ट गरिएका पन्छी, पन्छीजन्य पदार्थ तथा पन्छी उत्पादन सामग्रीको मूल्याङ्कन गरी सम्बन्धित धनीलाई क्षतिको ७५ प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था रहेको छ ।