१९ असार, काठमाडौँ । देशका विभिन्न जिल्लाहरूमा बर्ड फ्लु (H5N1)को सङ्क्रमण पुष्टि हुन थालेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सर्वसाधारणमा सङ्क्रमण फैलिन नदिन मोबाइल रिङटोनमार्फत विशेष जनचेतनामूलक अभियान सुरु गरेको छ । सङ्क्रमणको जोखिम कम गर्न र नागरिकलाई घरघरमै सचेत गराउन मन्त्रालयले दूरसञ्चार प्रदायकहरूसँगको समन्वयमा यो नयाँ प्रविधि र रणनीति अपनाएको हो ।
अब कतै फोन गर्दा सुनिने रिङटोन (कॉलर ट्यून) मार्फत नागरिकहरूले बर्ड फ्लुबाट बच्ने उपाय र अपनाउनुपर्ने सावधानीबारे प्रत्यक्ष जानकारी पाउनेछन् ।
मन्त्रालयका अनुसार मोबाइल रिङटोनमार्फत प्रवाह गरिएको सन्देशमा मुख्य गरी बिरामी वा शङ्कास्पद रूपमा मरेका चराचुरुङ्गी तथा कुखुरासँग प्रत्यक्ष सम्पर्क नगर्न र मृत पन्छी देखिएमा त्यसको नजिक नजान आग्रह गरिएको छ । यदि कतै पन्छीहरू मरेको वा बिरामी परेको शङ्का लागेमा तत्काल सम्बन्धित पशु स्वास्थ्य वा सरकारी निकायमा जानकारी गराउन तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन अनुरोध गरिएको छ ।
यसै गरी, उपभोक्ताहरूलाई पन्छीको मासु र अण्डा पूर्ण रूपमा राम्रोसँग पकाएर मात्र खान सन्देशमार्फत सचेत गराइएको छ। बर्ड फ्लुसम्बन्धी कुनै पनि थप जानकारी, जिज्ञासा वा आकस्मिक परामर्श आवश्यक परेमा सरकारले सञ्चालन गरेको ‘हेलो स्वास्थ्य’ को टोल–फ्री नम्बर १११५ मा निःशुल्क सम्पर्क गर्न समेत मन्त्रालयले आह्वान गरेको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले पछिल्लो समय देशका विभिन्न जिल्लामा बर्ड फ्लुको सङ्क्रमण पुष्टि भइरहेकाले जनसाधारणमा अनावश्यक त्रास फैलिन नदिन सरकार सचेत रहेको बताइन् । “महामारी नियन्त्रणका लागि नागरिकको सचेतना सबैभन्दा ठुलो हतियार हो,” मन्त्री मेहताले भनिन्, “कुनै पनि भ्रम वा त्रास फैलिन नदिई सङ्क्रमणको वास्तविक जोखिम र बच्ने उपायबारे सही जानकारी प्रत्येक नागरिकको हातहातमा पुर्याउने उद्देश्यले मोबाइल रिङटोनमार्फत यो अभियान सुरु गरिएको हो।”
सरकारले रिङटोन अभियानसँगै बर्ड फ्लु सङ्क्रमित देखिएका फार्मका कुखुरा तथा अन्य पन्छीहरू सुरक्षित रूपमा नष्ट गर्ने ९कलिङ०, प्रभावित क्षेत्रलाई सिल गरी उच्च निगरानी बढाउने, प्राविधिक टोलीहरू परिचालन गर्ने तथा फार्महरूमा जैविक सुरक्षा ९बायो(सेक्युरिटी० का मापदण्ड कडाइका साथ पालना गराउने कामलाई तीव्रता दिएको छ ।