ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगर वीरगंजको आयोजनामा सामुदायिक साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका नवनियुक्त प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठसँग परिचयात्मक तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ।
ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा शुक्रबार आयोजित कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको प्रमुखको जिम्मेवारी सम्हाल्न आएका प्रहरी निरीक्षक श्रेष्ठलाई स्वागत तथा परिचय गराइएको थियो।
कार्यक्रमका प्रमुख अतिथि रुगटा वेलफेयर सोसाइटीका अध्यक्ष तथा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका सल्लाहकार सुरेश रुगंटा रहेका थिए।
कार्यक्रममा ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण तथा सामुदायिक प्रहरी साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो। सहभागीहरूले ट्राफिक अनुशासन कायम गर्न नागरिक र प्रहरीबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।
सो अवसरमा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका पदाधिकारी, सदस्य, समाजसेवी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष खेतानले समुदाय र प्रहरीबीचको समन्वयले सुरक्षित, व्यवस्थित तथा अनुशासित समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए।
त्यसैगरी, प्रमुख प्रहरी निरीक्षक श्रेष्ठले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउन स्थानीय समुदाय, विभिन्न संघसंस्था तथा सरोकारवालासँग सहकार्य र समन्वयलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले ट्राफिक नियमको पालना, सडक सुरक्षा प्रवर्द्धन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रमलाई समेत निरन्तरता दिइने बताए। साथै, ट्राफिक अनुशासन कायम गर्न प्रहरीको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै नागरिकको सक्रिय सहभागिता र सहयोग अपरिहार्य रहेको उनको भनाइ थियो।