काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ ।
बैंकले शुक्रबार एक सूचना प्रकाशित गर्दै तह ५ देखि तह ९ सम्मका विभिन्न पदहरूमा योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो ।
बैंकले सार्वजनिक गरेको विज्ञापन अनुसार वरिष्ठ प्रबन्धक (तह ९), प्रबन्धक (तह ८), उपप्रबन्धक (तह ७) लगायत प्रशासन, कानुन, सूचना प्रविधि (आईटी), लेखा, कृषि, र इन्जिनियरिङ क्षेत्रका सहायक प्रबन्धक (तह ६)पदहरूमा कर्मचारी माग गरिएको छ । त्यसैगरी, सातै प्रदेशका विभिन्न कार्यालयहरूका लागि वरिष्ठ सहायक (प्रशासन, कानुन, नगद र सूचना प्रविधि) तह ५ का पदहरूमा पनि उल्लेख्य संख्यामा दरखास्त खुलाइएको छ
शैक्षिक योग्यताको हकमा पद अनुसार मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातक वा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।
उमेरको हदतर्फ अधिकृत स्तरका (तह ६ देखि ९) पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र सहायक स्तर (तह ५) का लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । महिला तथा अपाङ्गता भएका उम्मेदवारहरूको हकमा भने माथिल्लो उमेरको हद ४० वर्षसम्म कायम गरिएको छ । बैंकमा कार्यरत कर्मचारीहरूलाई भने उमेरको हद लाग्ने छैन ।
इच्छुक उम्मेदवारहरूले बैंकको वेबसाइट मार्फत अनलाइन दरखास्त दिनुपर्नेछ ।
आवेदन दिने म्याद सूचना प्रकाशित भएको मितिले २१ दिन अर्थात् आगामी साउन ८ गतेसम्म तोकिएको छ भने सो मिति नाघेको थप ७ दिनसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने व्यवस्था छ । परीक्षा दस्तुर बैंकको मोबाइल बैंकिङ वा अन्य अनलाइन माध्यमबाटै भुक्तानी गर्न सकिनेछ ।
परीक्षाको मिति र केन्द्र पछि प्रकाशित गरिनेछ भने विस्तृत पाठ्यक्रम बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको छ । छनोट प्रक्रियामा लिखित परीक्षा, प्रस्तुतीकरण (आवश्यकता अनुसार) र अन्तर्वार्ता समावेश हुनेछन् । थप जानकारीका लागि बैंकको केन्द्रीय कार्यालय, मानव संसाधन विभागमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।