वीरगञ्ज, असार १९ — वीरगञ्ज महानगरपालिका–३ आदर्शनगर टोलस्थित जानकी सेकेन्डरी बोर्डिङ स्कुलमा शैक्षिक सत्र २०८३ का लागि गठन गरिएको विद्यार्थी परिषद्का नवनिर्वाचित पदाधिकारीहरूको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।
अभिभावक जितेन्द्रप्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवनिर्वाचित हेड गर्ल, हेड ब्वाय, हाउस क्याप्टेन तथा अनुशासन प्रमुखहरूलाई पद तथा गोपनीयताको सपथ गराइएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले विद्यालयको नीति तथा नियमको पालना गर्दै इमान्दारिता र जिम्मेवारीका साथ आफ्नो भूमिका निर्वाह गर्न विद्यार्थीहरूलाई आग्रह गरे। उनले विश्वास र इमान्दारिता विद्यार्थीहरूको सबैभन्दा महत्वपूर्ण गुण भएको उल्लेख गर्दै नेतृत्वको जिम्मेवारी पाएका विद्यार्थीहरूले आफ्नो कर्तव्य निष्ठापूर्वक पूरा गर्नुपर्ने बताए।
विद्यालयले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूको नेतृत्व क्षमता विकासमा जोड दिँदै आएको उल्लेख गर्दै उनले यस्ता जिम्मेवारीले भविष्यमा समाज र राष्ट्रप्रति उत्तरदायी नागरिक निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।
विद्यार्थी परिषद्बाट आदित्य पाण्डे प्रिफेक्ट, राजेश यादव हेड ब्वाय तथा श्रुति दास हेड गर्लमा निर्वाचित भएका छन्। साथै विभिन्न हाउस क्याप्टेन तथा अनुशासन प्रमुखहरू समेत चयन गरिएको विद्यालयले जनाएको छ।
विद्यालयकी संस्थापक सुनिता यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगञ्ज महानगरपालिका–३ की वडा सदस्य संगीता दास, समाजसेवी निलु श्रेष्ठ, जनपथ प्रहरी दीपेन्द्र टमाटा, जगत समाचारका सञ्चालक जगत राई, पत्रकार रन्जित पाण्डे तथा विद्यालयका शिक्षकहरू कृष्ण सिंह ठकुरी, दीपेन्द्र सहनी, राजन पण्डित, फुलसुम खातुन, प्रीति चौधरीलगायतको उपस्थिति रहेको थियो।
विद्यालयका निर्देशक तथा प्राध्यापक वीरेन्द्र यादवका अनुसार नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरूको परिषद् गठन गरी नेतृत्व विकास तथा जिम्मेवारी बोध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।