वीरगञ्ज, असार १९ — वीरगञ्जमा सडक सीमा संरक्षण तथा अतिक्रमण हटाउने अभियानलाई पुनः तीव्र बनाइएको छ। सडक विभाग डिभिजन कार्यालय हेटौंडाले गण्डक क्षेत्रबाट सडक सीमाभित्र रहेका संरचना पूर्णरूपमा खाली गराउन शुक्रबारदेखि पुनः डोजर परिचालन गरेको हो।
सडक विभागका इन्जिनियर दुर्गाप्रसादका अनुसार केही दिनअघि सडक सीमाभित्र अतिक्रमण गरी निर्माण गरिएका घर तथा अन्य संरचनामा डोजर चलाएर भत्काइएको थियो। त्यसपछि सम्बन्धित घरधनीलाई भत्किएका संरचना, निर्माण सामग्री तथा अन्य सामान आफैं हटाई सडक क्षेत्र खाली गर्न निर्देशन दिइएको थियो।
तर अधिकांश घरधनीले हालसम्म पनि संरचना पूर्ण रूपमा खाली नगरेकाले सडक विभागले पुनः डोजर परिचालन गरी सफाइ तथा अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिएको जनाएको छ।
विभागका अनुसार शुक्रबार विशेषगरी विद्युत् लाइन विच्छेद भइसकेका घर तथा संरचनालाई पूर्ण रूपमा हटाउने कार्यलाई प्राथमिकता दिइएको छ।
सर्वोच्च अदालतको आदेशअनुसार वीरगञ्जका मुख्य सडकलाई दायाँ–बायाँ २५/२५ मिटर कायम गरी फराकिलो बनाउने योजनाअन्तर्गत सडक विभागले अतिक्रमण हटाउने अभियान सञ्चालन गर्दै आएको छ। सोही योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न गण्डक क्षेत्रबाट पुनः डोजर परिचालन गरिएको विभागले जनाएको छ।
सडक विभागले सडक सीमाभित्र परेका संरचना समयमै स्वेच्छाले खाली गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ। अन्यथा प्रचलित कानुनबमोजिम अतिक्रमित संरचना हटाउने प्रक्रिया निरन्तर अघि बढाइने विभागले स्पष्ट पारेको छ।
अभियानमार्फत सडकको सीमा संरक्षण, यातायात व्यवस्थापन सहज बनाउने तथा भविष्यमा सडक विस्तारको कार्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने लक्ष्य राखिएको सडक विभागले जनाएको छ।