त्रिभुवन राजपथअन्तर्गत वीरगंजको मुख्य सडक क्षेत्रमा सडक सीमाभित्र रहेका संरचना हटाउन शुक्रबारदेखि पुनः सञ्चालन गरिएको डोजर अभियान स्थानीयवासीको विरोधपछि तत्कालका लागि स्थगित गरिएको छ।
सडक डिभिजन कार्यालय हेटौंडाका इन्जिनियर दुर्गाप्रसादका अनुसार संरचना हटाउने क्रममा स्थानीयले अवरोध सिर्जना गरेपछि उत्पन्न विवादका कारण डोजर अभियान रोकिएको हो।
यसअघि गत वैशाख ६ र ७ गते सडक विभागले सडक सीमाभित्र रहेका संरचनामा पहिलो चरणको डोजर अभियान सञ्चालन गरेको थियो। त्यसपछि करिब अढाई महिनासम्म रोकिएको सडक विस्तारको काम शुक्रबारदेखि पुनः सुरु गरिएको थियो।
सडक विभागले पहिलो चरणमा सडकको दायाँ–बायाँ २५–२५ मिटर सीमा क्षेत्रभित्र पर्ने घर, भवन तथा अन्य संरचनामा आंशिक रूपमा डोजर चलाएको थियो। त्यसक्रममा सम्बन्धित घरधनीलाई २५ दिनभित्र बाँकी संरचना स्वयं हटाउन आग्रह गरिएको थियो। तर अधिकांशले संरचना नहटाएपछि विभागले पुनः डोजर परिचालन गरी बाँकी संरचना हटाउने प्रक्रिया अघि बढाएको जनाएको छ।
यसअघि असार २ गते सडक डिभिजन कार्यालय हेटौंडाले सार्वजनिक सूचना जारी गर्दै पाँच दिनभित्र सडक सीमा क्षेत्रभित्र रहेका संरचना हटाउन आग्रह गरेको थियो। अन्यथा सडक ऐन, २०३१ बमोजिम सडक सीमा संरक्षणअन्तर्गत विभागले आफैं संरचना हटाउने चेतावनी दिएको थियो।
सडक विभागका अनुसार वैशाख ६ र ७ गते गण्डक चोकदेखि मितेरी पुलसम्मको मेनरोड क्षेत्रमा दायाँ–बायाँ २५–२५ मिटर सीमाभित्र पर्ने करिब एक हजार २०० घर तथा भवनमा आंशिक रूपमा डोजर चलाइएको थियो। त्यसयता केही घरधनीले आफ्ना संरचना हटाए पनि घण्टाघरदेखि माइस्थान, आदर्शनगर हुँदै अलखियामठ चोकसम्मका अधिकांश घर तथा भवन अझै यथावत् रहेका छन्।
उता, सडक विस्तारको विरोध गर्दै मेनरोड क्षेत्रका घरधनीहरू वैशाख महिनादेखि आन्दोलनरत छन्। उनीहरूले मेनरोडलाई शहरी मार्गका रूपमा कायम गर्नुपर्ने तथा हालको सडक विस्तार योजना स्थगित गर्नुपर्ने माग राख्दै आएका छन्।
स्थानीयको विरोध र सडक विभागको सडक सीमा संरक्षण अभियानबीच वीरगंज मेनरोड विस्तारको विषय अझै विवादित बनेको छ।