वीरगंजका क्यासिनोमा नेपाली नागरिकको खुला प्रवेश र सीमावर्ती क्षेत्रमा बढ्दो लागूऔषध तस्करीको विषय प्रतिनिधिसभामा उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी बाट पर्सा–१ का निर्वाचित सांसद बुद्धि प्रसाद पन्तले प्रतिनिधिसभाको विशेष समयमा बोल्दै पर्सा प्रशासनको भूमिकामाथि प्रश्न उठाएका छन्। उनले प्रमुख जिल्ला अधिकारी ९सिडिओ० र प्रहरी उपरीक्षक ९एसपी०को भूमिकाबारे निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका हुन्।
सांसद पन्तले नेपालमा विदेशी पर्यटकका लागि मात्र क्यासिनो सञ्चालनको कानुनी व्यवस्था भए पनि वीरगञ्जका तारे होटलमा सञ्चालित क्यासिनोमा नेपाली नागरिक खुलेआम प्रवेश गरिरहेको जनगुनासो लामो समयदेखि आइरहेको बताए। कानुनविपरीत गतिविधि भइरहेको भए प्रशासन किन मौन रहेको भन्ने प्रश्न उनले उठाए।
उनका अनुसार स्थानीय प्रहरी प्रशासनको मिलेमतोमा नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराइएको भन्ने गुनासो प्राप्त भइरहेको छ। यसले व्यापारिक समुदाय, युवा उद्यमी तथा मध्यमवर्गीय परिवारमा आर्थिक र सामाजिक समस्या बढाएको उनको भनाइ छ। जुवाको लतका कारण ऋण बढ्ने, व्यवसाय धराशायी हुने र पारिवारिक सम्बन्धमा असर पर्ने घटना बढ्दै गएको उनले दाबी गरे।
सांसद पन्तले पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक सरकारको नीति कार्यान्वयनमा प्रभावकारी बन्न नसकेको आरोपसमेत लगाए। उनले सरकारकै नीति असफल पार्ने गतिविधिमा प्रशासन संलग्न रहेको आशंका व्यक्त गर्दै यसबारे निष्पक्ष छानबिन आवश्यक रहेको बताए।
यस्तै, उनले वीरगञ्ज–रक्सौल नाका हुँदै भारततर्फ गाँजा र चरेसको तस्करी भइरहेको विषय पनि सदनमा उठाए। भारतीय सुरक्षा निकायले सीमावर्ती क्षेत्रमा पटक–पटक ठूलो परिमाणमा लागूऔषध बरामद गरिरहेको अवस्थामा नेपाली सुरक्षा निकायले प्रभावकारी रूपमा नियन्त्रण गर्न नसकेको भन्दै उनले प्रश्न उठाए।
“सामान्य नागरिकले ल्याएको सानो सामानमा कडाइ हुन्छ, तर ठूलो परिमाणमा लागूऔषध र तस्करीका सामग्री कसरी सीमा पार गर्छन्रु” भन्दै उनले सीमामा हुने निगरानी प्रणालीको प्रभावकारितामाथि समेत प्रश्न गरे।
सांसद पन्तले केही दिनअघि गृहमन्त्रीको पर्सा भ्रमणका क्रममा स्थानीयवासीले सार्वजनिक रूपमा प्रहरी प्रशासनप्रति असन्तुष्टि व्यक्त गरेको प्रसंग पनि स्मरण गराए।
उनले वीरगञ्जका क्यासिनोमा नेपाली नागरिकको प्रवेश, सीमावर्ती लागूऔषध तस्करी तथा स्थानीय प्रशासनको भूमिकाबारे स्वतन्त्र, निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न सरकारसँग माग गरेका छन्।