पर्साको पकहाँमैनपुर गाउँपालिकास्थित श्री रामचरित्र भगत माध्यमिक विद्यालयलाई नमुना विद्यालयका रूपमा विकास गर्ने उद्देश्यसहित बृहत छलफल कार्यक्रम सम्पन्न भएको छ। विद्यालयको शैक्षिक स्तर सुधार, स्नातक तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन तथा गुणस्तरीय शिक्षा विस्तारका विषयमा सरोकारवालाबीच विस्तृत छलफल गरिएको हो।
कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, आधुनिक शिक्षण प्रणालीको विकास, भौतिक पूर्वाधार विस्तार, दक्ष शिक्षक तथा जनशक्ति व्यवस्थापन, प्रविधिमैत्री सिकाइ वातावरण निर्माणलगायतका विषयमा छलफल भएको थियो।
छलफलका क्रममा विद्यालयमा कक्षा १ देखि ३ सम्म मोन्टेसरी कक्षा सञ्चालन गर्ने विषयलाई प्राथमिकताका साथ अघि बढाउने सहमति भएको छ। स्थानीय स्तरमै आधुनिक तथा प्रतिस्पर्धी शिक्षा उपलब्ध गराई विद्यार्थीलाई गुणस्तरीय शैक्षिक अवसर प्रदान गर्ने उद्देश्यले उक्त योजना अघि सारिएको सहभागीहरूले बताएका छन्।
त्यस्तै, विद्यालयमा स्नातक तहसम्मको अध्ययन–अध्यापन सञ्चालन गर्ने दीर्घकालीन योजना तयार गरी आवश्यक पूर्वाधार, जनशक्ति र शैक्षिक व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने विषयमा समेत छलफल भएको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले विद्यालयको सफलता समुदाय, अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि तथा सरोकारवाला निकायबीचको सहकार्यमा निर्भर रहने उल्लेख गर्दै विद्यालयलाई नमुना शैक्षिक संस्थाका रूपमा स्थापित गर्न सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
सहभागीहरूले श्री रामचरित्र भगत माध्यमिक विद्यालयलाई गुणस्तरीय, प्रविधिमैत्री, अनुशासित तथा प्रतिस्पर्धी शिक्षाको केन्द्रका रूपमा विकास गर्ने साझा प्रतिबद्धता व्यक्त गरेका छन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश सहनीको अध्यक्षता तथा पकहाँमैनपुर गाउँपालिका प्रमुख सुरेश मेहताको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयको दीर्घकालीन शैक्षिक सुधार, गुणस्तरीय शिक्षाको विस्तार र नमुना विद्यालय निर्माण अभियानलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको थियो।