सुनसरी - सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका अर्का युवकको पनि उपचारकै क्रममा मृत्यु भएको छ । यससँगै देवानगन्ज गोलीकाण्डमा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।
देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेका बेला बिहीबार दिउँसो १ :२४ बजे मृत्यु भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । गोली लाग्दा जयप्रकाशको पेटमा गम्भीर चोट लागेर आन्द्रा बाहिर निस्किएको थियो ।
उनको सोमबार शल्यक्रिया गरिएको भए पनि अवस्था सुधार हुन नसकेपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । शव अस्पतालमै राखिएको छ ।
आइतबार राति कप्तानगन्जमा दुई समूहबीच भएको हिंसात्मक झडप नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो । घटनामा घाइते भएका देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको सोही राति उपचारका लागि न्युरो अस्पताल पुर्याएलगत्तै मृत्यु भएको थियो ।
घटनामा गोली लागेर १० जना घाइते भएका थिए । उनीहरूमध्ये दुईजनाको मृत्यु भइसकेको छ भने बाँकी आठजनाको विराटनगरस्थित न्युरो अस्पताल,विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये रवीन्द्रकुमार मेहता र अमित यादवको अवस्था अझै गम्भीर रहेको प्रहरीले जनाएको छ ।
गोलीकाण्डपछि सुनसरीका विभिन्न स्थानमा आगजनी,तोडफोड,लुटपाट र आक्रमणका घटना भएपछि जिल्ला तनावग्रस्त बनेको थियो । स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश अझै कायम राखेको छ । जिल्लाको अवस्था बुधबारदेखि क्रमशः सामान्य बन्दै गएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताएका छन् ।