१६ साउन,वीरगञ्ज । देशका विभिन्न स्थानमा हालै भएका घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै बारामा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, मेलमिलाप तथा आपसी भाइचारा कायम राख्ने उद्देश्यले शनिबार वृहत् सामाजिक सद्भाव र्याली आयोजना गरिएको छ।
जिल्ला प्रशासन कार्यालय बाराको संयोजनमा आयोजित र्याली बिहान जिल्ला प्रशासन कार्यालय परिसरबाट सुरु भई कलैया बजारका विभिन्न मुख्य सडक तथा चोकहरूको परिक्रमा गर्दै सामाजिक एकता, शान्ति र सहिष्णुताको सन्देश प्रवाह गरेको थियो।
र्यालीमा जिल्लास्थित विभिन्न राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधि, जनप्रतिनिधि, धार्मिक संघ–संस्थाका अगुवा, विभिन्न धर्म र संस्कृतिमा आस्था राख्ने धर्मावलम्बी, नागरिक समाज, मानवअधिकारकर्मी, सञ्चारकर्मी, सुरक्षा निकायका प्रतिनिधि, सरकारी कर्मचारी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
सहभागीहरूले “विभेद अन्त्य गरौँ, भाइचारा बढाऔँ”, “हाम्रो एकता, देशको विशेषता”, “घृणा फैलाउने बन्द गरौँ, सद्भाव बढाऔँ” तथा “शान्ति नै समृद्धिको आधार” लगायतका सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै सामाजिक सद्भाव कायम राख्न सबैसँग अपिल गरेका थिए।
र्यालीका क्रममा सहभागीहरूले जातीय, धार्मिक तथा सामुदायिक सद्भावलाई थप सुदृढ बनाउन, कुनै पनि प्रकारका अफवाह, घृणा र हिंसात्मक गतिविधिबाट टाढा रहन तथा सामाजिक शान्ति र आपसी विश्वास कायम राख्न सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।
आयोजकका अनुसार पछिल्ला घटनाका कारण समाजमा देखिएको असहज अवस्थालाई शान्तिपूर्ण संवाद, सहिष्णुता र एकतामार्फत समाधान गर्न यस्ता कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरिएको छ।