काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकारी स्वास्थ्य संस्थाहरूमा निःशुल्क औषधिको चरम अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद पौडेलले स्वास्थ्य मन्त्रालयबाट निःशुल्क वितरण गरिने भनिएका औषधिहरू तल्लो तहका स्वास्थ्य केन्द्रहरूमा उपलब्ध नभएको बताए।
आफ्नो निर्वाचन क्षेत्रका स्वास्थ्य संस्थाहरूको अनुगमनका क्रममा कतिपय स्थानमा निःशुल्क औषधिको मौज्दात शून्य रहेको पाइएको उनले उल्लेख गरे। बैठकमा सांसद पौडेलले जटिल प्रकृतिका रोग, विशेष गरी क्यान्सरबाट पीडित विपन्न नागरिकहरूको दयनीय अवस्थाबारे समेत चर्चा गरे। आर्थिक अभावका कारण उपचार गर्न नसकी बिरामीहरू गम्भीर मानसिक तनावमा रहेको उल्लेख गर्दै उनले राज्यले प्रदान गर्ने १ लाख रुपैयाँको उपचार सहुलियत अपर्याप्त र झन्झटिलो भएको बताए।
मधेस प्रदेश सरकारले दिने भनिएको सहुलियत समेत समयमा प्राप्त नहुने र बिरामीहरूले वर्षौँसम्म प्रतीक्षा गर्नुपर्ने अवस्था रहेकोमा उनले आपत्ति जनाए।
सांसद पौडेलले भने, ‘चन्द्रपुर अस्पतालमा संघबाट वार्षिक करिब १७ लाख रुपैयाँ बराबरको औषधिको बजेट प्राप्त हुन्छ, तर अस्पतालको केन्द्रीय अवस्थितिका कारण छिमेकी पालिकाहरूबाट समेत बिरामी आउँदा त्यहाँ वार्षिक १ करोड रुपैयाँभन्दा बढीको औषधिको माग छ।’
बजेट र मागबिचको खाडल पुर्न सरकारले विशेष नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिँदै उनले प्रश्न गरे, ‘विपन्नले साँच्चिकै उपचार पाउने र बाँच्न पाउने अधिकार सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयले के कस्तो योजना बनाएको छ रु’
सांसद पौडेलले मधेस प्रदेशमा सर्पदंशको समस्या निकै भयावह रहेकोतर्फ पनि समितिको ध्यान आकृष्ट गराए। रौतहटमा उचित उपचार केन्द्रको अभावमा बिरामीहरूको अकालमै मृत्यु हुने गरेको भन्दै उनले कम्तीमा नेपाली सेनाको ब्यारेकमा भए पनि सर्पदंश उपचारको भरपर्दो व्यवस्था मिलाउन माग गरे।