जगरनाथपुर गाउँपालिका–१ पाँडेपुरस्थित मदरसामा आयोजित निःशुल्क आँखा शिविरबाट १७२ जना लाभान्वित भएका छन्। दाइजो एवं सामाजिक कुरीति विरुद्ध जागरण मञ्चको आयोजनामा तथा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो।
शिविरमा १७२ जनाको आँखाको परीक्षण गरिएकोमा ४२ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको आयोजकले जनाएको छ। आँखामा अन्य समस्या देखिएका तथा औषधिको आवश्यकता भएका ३८ जनालाई आवश्यक औषधिको ड्रप उपलब्ध गराएर घर पठाइएको थियो।
मोतियाबिन्दु पहिचान भएका ४२ जनाको सामुदायिक आँखा अस्पताल, वीरगञ्जमा निःशुल्क शल्यक्रिया गरिने आयोजकले जनाएको छ। उनीहरूलाई भदौ १३ गते शनिबार अस्पताल लगेर आवश्यक प्रक्रिया पूरा गरी शल्यक्रिया गर्ने तयारी गरिएको छ।
शिविर दाइजो एवं सामाजिक कुरीति विरुद्ध जागरण मञ्चका अध्यक्ष बृजेश्वर प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सामुदायिक आँखा अस्पतालका शिविर संयोजक राजेश चौधरी, पिपरडाढी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रामलखन चौरसिया, समाजसेवी शिवजी शाह कलवार, पन्नालाल पटेल, शहरुम राउत गद्दी, सोनु मिश्रा, डा। प्रद्युम्न चौधरी, कृष्णा शाहलगायत स्थानीयवासीको सहभागिता रहेको थियो।
आँखा परीक्षण तथा उपचार सेवाबाट आर्थिक अवस्था कमजोर भएका स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभ पुगेको आयोजकले जनाएको छ।