रसुवा लगायतका जिल्लामा आएको बाढीपहिरोसहितका प्राकृतिक विपद्का कारण जनधनको क्षति भइरहेकोप्रति दुःख व्यक्त गर्दै पूर्वमन्त्री अजय चौरसिया र मधेश प्रदेशका मन्त्री श्याम पटेलले वीरगंजस्थित गहवा माई मन्दिरमा विशेष पूजा तथा प्रार्थना गरेका छन्।
शनिबार साँझ गहवा माई मन्दिरमा आयोजित पूजाका क्रममा चौरसिया र पटेलले प्राकृतिक विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए।
उनीहरूले बाढीपहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको शीघ्र उद्धार, राहत तथा पुनःस्थापनाका लागि राज्यका सम्बन्धित निकाय थप सक्रिय हुनुपर्नेमा जोड दिएका थिए। विपद्को समयमा प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन सबै पक्ष एकजुट हुनुपर्ने उनीहरूको भनाइ थियो।
पूजाका क्रममा चौरसिया र पटेलले गहवा माईसँग देशमा शान्ति, सद्भाव र समृद्धि कायम रहोस् तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार र राहत कार्य प्रभावकारी रूपमा अघि बढोस् भन्ने कामना गरेका थिए।
पूर्वमन्त्री चौरसियाको जन्मदिनसमेत परेकाले जन्मदिनको अवसरमा गहवा माई मन्दिरमा विशेष पूजा गर्दै उनले देशमा विकसित पछिल्ला घटनाक्रमसँगै बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र देशमा शान्ति तथा सद्भाव कायम होस् भन्ने कामना गरेका छन्। जन्मदिनको अवसरमा गहवा माई मन्दिर परिसरमा ज्योतिष डा। पुरुषोत्तम दुबेद्वारा चौरसियालाई गमछा ओढाएर सम्मान गर्दै जन्मदिनको शुभकामना दिइएको थियो।
कार्यक्रममा दिना गुप्ता, मनिन्द्रलाल नेपाली, ध्रुव नेपाल, मिन्टू सिंह, विभा साह, कोपिला कँडेल, कामेश्वर मिश्र, धीरज साहलगायतको उपस्थिति थियो।
कार्यक्रममा सहभागीहरूले विपद्को यस घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। उनीहरूले देशमा शान्ति, सद्भाव र स्थायित्व कायम होस् भन्ने सामूहिक प्रार्थनासमेत गरेका थिए।