नेकपा एमाले मधेस प्रदेश कमिटी सचिवालयको बैठकले बाढी तथा पहिरो प्रभावितको उद्धार, राहत र पुनर्स्थापनादेखि किसानका समस्या, स्वास्थ्य बीमा, शान्ति–सुरक्षा र बर्दिबास मेडिकल कलेजको निर्माणसम्मका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
प्रदेश अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षता तथा प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठको प्रमुख आतिथ्यतामा बर्दिबासमा बसेको बैठकले मधेस प्रदेशमा पार्टीका गतिविधिको समीक्षा गर्दै ‘मिसन पार्टी जागरण अभियान’लाई प्रभावकारी बनाउन भदौ २१ गते बर्दिबासमा अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।
बैठकले समसामयिक विषयमा आठबुँदे विशेष प्रस्ताव पारित गरेको छ। प्रस्तावमा भदौ १० गते तिब्बततर्फको हिमताल फुटेपछि आएको भोटेकोसी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, तनहुँ, गोरखा र चितवनमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
बाढी तथा पहिरो प्रभावितको उपचार, उद्धार, राहत र पुनर्स्थापनाको प्रभावकारी व्यवस्था गर्न सरकारसँग माग गर्दै एमाले मधेस प्रदेश कमिटीले पार्टी केन्द्रमार्फत केन्द्रीय दैवी प्रकोप उद्धार कोषमा १ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन मधेस प्रदेशका आठवटै जिल्लाबाट २५–२५ जना स्वयंसेवक परिचालन गर्ने निर्णयसमेत बैठकले गरेको छ।
बैठकले किसानले भोग्दै आएको मल, बीउ तथा कीटनाशक औषधिको अभाव तत्काल समाधान गर्न सरकारसँग माग गरेको छ। त्यस्तै, एलपीजी ग्यास, इन्धन तथा अत्यावश्यक उपभोग्य वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न र बढ्दो महँगी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराइएको छ।
संघीय सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि उपलब्ध गराउँदै आएको अनुदान कटौती गरेको विषयमा बैठकले असन्तुष्टि व्यक्त गरेको छ। स्वास्थ्य बीमा सेवा प्रभावित हुन नदिन आवश्यक बजेटको थप व्यवस्था गरी सेवा निरन्तर सञ्चालन गर्न सरकारसँग माग गरिएको छ।
मधेस प्रदेशमा हत्या, हिंसा तथा बलात्कारका घटना बढ्दै गएको भन्दै बैठकले चिन्ता व्यक्त गरेको छ। नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्दै शान्ति–सुरक्षाको प्रभावकारी व्यवस्था मिलाउन सरकारसँग जोडदार माग गरिएको छ।
नेपालमै उत्पादन भएको विद्युतमा लगाइएको मूल्य अभिवृद्धि कर तत्काल फिर्ता लिन समेत बैठकले सरकारसँग माग गरेको छ। युवामा बढ्दै गएको लागूऔषध दुव्र्यसन नियन्त्रणका लागि प्रभावकारी र विशेष योजना कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।
बैठकले भूमिहीन तथा सुकुम्बासीको समस्यालाई पनि प्रमुखताका साथ उठाएको छ। भूमिहीनले बसोबास गर्दै आएका घरटहरा भत्काएर उनीहरूलाई घरबारविहीन बनाइएको भन्दै विस्थापित परिवारको तत्काल बसोबासको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ। साथै, मधेस प्रदेशमा रहेका भूमिहीन तथा सुकुम्बासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न जग्गाको व्यवस्था गर्नसमेत सरकारसँग आग्रह गरिएको छ।
बैठकले दर्तालगायत आवश्यक प्रक्रिया पूरा गरी निर्माण अघि बढ्ने अवस्थामा रहेको बर्दिबास मेडिकल कलेजका लागि चालु आर्थिक वर्षमा आवश्यक थप स्रोत सुनिश्चित गरी निर्माण प्रक्रिया तत्काल अघि बढाउन नेपाल सरकारसँग जोडदार माग गरेको छ।
एमाले मधेस प्रदेश कमिटीले सरकारलाई जनताको गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र सुरक्षाको जिम्मेवारी पूरा गर्न आग्रह गर्दै जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयमा तत्काल प्रभावकारी कदम चाल्नसमेत माग गरेको छ।