श्रीकृष्ण जन्माष्टमी २०८३ को पावन अवसरमा श्री गहवा माई तीर्थ क्षेत्र विकास समिति ९रथयात्रा समिति०, वीरगञ्जले नगरका विभिन्न विद्यालयमा राधा–कृष्णको रूप धारण गरेका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरी प्रोत्साहित गरेको छ।
समितिले जन्माष्टमीको अवसरमा वीरगञ्जका १५ वटा विद्यालयमा पुगेर राधा तथा कृष्णको रूप धारण गरेका विद्यार्थीलाई विभिन्न शैक्षिक सामग्री वितरण गरेको हो। धार्मिक तथा सांस्कृतिक पर्वलाई बालबालिकामाझ सिर्जनात्मक र उत्साहपूर्ण रूपमा मनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समितिका सचिव पप्पु गुप्ताले जानकारी दिए।
गुप्ताका अनुसार विद्यालयमा पुगेर विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गर्नुका साथै उनीहरूको सहभागितालाई प्रोत्साहित गरिएको थियो। यस कार्यक्रमले बालबालिकामा धार्मिक तथा सांस्कृतिक परम्पराप्रति रुचि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको समितिले जनाएको छ।
कार्यक्रम श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिका उपाध्यक्ष देवानन्द कलवारको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा समितिका सचिव पप्पु गुप्ता, कोषाध्यक्ष रवि अग्रवाल, विजय सर्राफ, सदस्य श्याम गुप्ता, प्रभु साह, मुन्ना साह, दिपु गुप्ता र मुना सर्राफलगायतको सहभागिता रहेको थियो।
समितिले विगतदेखि नै गहवा माई रथयात्रा तथा धार्मिक–सांस्कृतिक गतिविधिसँगै सामाजिक तथा शैक्षिक क्षेत्रमा समेत विभिन्न कार्यक्रम गर्दै आएको जनाएको छ। जन्माष्टमीको अवसरमा गरिएको यो पहलले विद्यार्थीलाई अध्ययनप्रति थप उत्साहित बनाउनुका साथै स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणमा समेत योगदान पुग्ने विश्वास गरिएको छ।