२० भदौ,वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ जीतपुरस्थित रातोपुल नजिक रहेको श्मशानघाटमा निर्माण गरिएको सिमेन्टको बस्ने ठाउँ तोडफोड गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका–६ सिद्धरियाटोलका २० वर्षीय कईजान होदा रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय जीतपुरबाट वरिष्ठ प्रहरी निरीक्षक उमेश निरौलाको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार होदाले लागुऔषध सेवन गरी नशाको अवस्थामा श्मशानघाटमा निर्माण गरिएको सिमेन्टको कुर्सीमा लात्ती प्रहार गरी तोडफोड गरेको प्रारम्भिक बयान दिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ।
स्थानीय फलफूल व्यवसायी वीरेन्द्रसहनी गोँढले आफ्नै निजी लगानीमा उक्त सिमेन्टको बस्ने ठाउँ निर्माण गरेका थिए। करिब १ लाख ८ हजार रुपैयाँको लागतमा श्मशानघाटमा सर्वसाधारणको सुविधाका लागि संरचना निर्माण गरिएको थियो।
गोँढका अनुसार उनले बिहीबार राति कुर्सीको ढलान सकेर घर फर्किएका थिए। शुक्रबार बिहान श्मशानघाट पुग्दा आफूले भर्खरै निर्माण गरेको सिमेन्टको कुर्सी पूर्ण रूपमा तोडफोड भएको अवस्थामा भेटेपछि उनले इलाका प्रहरी कार्यालय जीतपुरमा जानकारी गराएका थिए।
गोँढले सार्वजनिक तथा धार्मिक महत्वको स्थानमा सर्वसाधारणको सुविधाका लागि निर्माण गरिएको संरचना तोडफोड गर्ने व्यक्तिमाथि कडा कानुनी कारबाही हुनुपर्ने माग गरेका छन्।
दाहसंस्कारका लागि श्मशानघाट आउने सर्वसाधारणलाई सहज होस् भन्ने उद्देश्यले गोँढले यसअघि पनि व्यक्तिगत लगानीमा विभिन्न पूर्वाधार निर्माणमा सहयोग गर्दै आएका छन्। उनले करिब २० लाख रुपैयाँको लागतमा श्मशानघाट परिसरमा दुईवटा डिप बोरिङ समेत निर्माण गरेका छन्।
दाहसंस्कारका लागि आउने व्यक्तिलाई पानी पिउन, नुहाउन तथा अन्य धार्मिक संस्कार गर्न सहज होस् भन्ने उद्देश्यले डिप बोरिङ निर्माण गरिएको गोँढले बताएका छन्।
निजी लगानी तथा सहयोगबाट निर्माण भएका यस्ता संरचनाले श्मशानघाटमा आउने सर्वसाधारणलाई प्रत्यक्ष सुविधा पुग्दै आएको भए पनि सार्वजनिक उपयोगका संरचना तोडफोड भएपछि स्थानीयमा चिन्ता बढेको छ।
प्रहरीले पक्राउ परेका होदाविरुद्ध अनुसन्धान अघि बढाएको छ। घटनाको प्रकृति र भएको क्षतिको विवरणका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।