वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्साको अध्यक्षमा पूर्व सांसद तथा युवा नेतृ बिना जयसवाल निर्विरोध चयन भएकी छन् ।
वीरगञ्ज बसपार्कस्थित होटल सोल्टी गार्डेनमा सम्पन्न राप्रपाको छैटौँ जिल्ला अधिवेशनले जयसवाललाई सर्वसम्मत रूपमा जिल्ला अध्यक्ष चयन गरेको हो ।
जयसवाल राप्रपा पर्साको इतिहासमा जिल्ला अध्यक्ष बन्ने पहिलो महिला बनेकी छन् । पार्टी नेताहरूका अनुसार उनी जिल्ला अध्यक्ष बन्ने सबैभन्दा कान्छी नेतृसमेत हुन् ।
नयाँ नेतृत्व चयनका क्रममा अधिवेशनमा लामो समयसम्म सहमति जुट्न सकेको थिएन । अध्यक्ष पदका लागि १० जना आकाङ्क्षी देखिएपछि नेतृत्व चयनमा अन्योल उत्पन्न भएको थियो । बुधबार बिहान १० बजेदेखि सुरु भएको छलफल करिब नौ घण्टासम्म चलेपछि बेलुका ७ बजे जयसवालको नाममा सहमति जुटेको हो ।
पार्टीका अनुसार अध्यक्ष पदका आकाङ्क्षीमध्ये जयसवाललाई आठ जना आकाङ्क्षीले समर्थन गरेपछि उनी निर्विरोध चयन भएकी हुन् । आन्तरिक प्रतिस्पर्धालाई सहमतिमार्फत टुङ्ग्याउँदै नेतृत्व चयन गरिएकाले यसले पार्टीको जिल्ला सङ्गठनलाई थप एकताबद्ध र सक्रिय बनाउने अपेक्षा गरिएको छ ।
जयसवालको नेतृत्व चयनलाई राप्रपाले पर्सामा महिला तथा नयाँ पुस्ताको सहभागिता बढाउने दिशामा महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ ।
अधिवेशनमा राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन प्रमुख अतिथिका रूपमा सहभागी थिए । राप्रपाकी सचेतक तथा प्रतिनिधिसभा सदस्य खुसबु ओली विशेष अतिथिका रूपमा उपस्थित थिइन् ।
त्यसैगरी राप्रपा मधेस प्रदेश अध्यक्ष तथा सांसद भरत गिरी, पूर्व सांसद दीपक सिंहलगायत केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेता–कार्यकर्ताको सहभागिता थियो ।
अधिवेशनमा पर्सामा पार्टी सङ्गठन विस्तार, जनसम्पर्क वृद्धि तथा आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको राप्रपाले जनाएको छ ।
नवनिर्वाचित अध्यक्ष जयसवालको नेतृत्वमा पर्सामा सङ्गठनलाई स्थानीय तहसम्म थप विस्तार गर्दै जनताका मुद्दालाई प्राथमिकताका साथ उठाउने रणनीति अघि बढाइने पार्टी नेताहरूले बताएका छन् ।