काठमाडौं,०५ असोज । भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा जनजीवन सामान्य बनाउन सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताएका छन्।
प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार समितिको बैठकमा बोल्दै मन्त्री लम्सालले बाढीबाट क्षतिग्रस्त सडक, पुल तथा खानेपानी संरचनाको तत्काल पुनःस्थापना र आवश्यक ठाउँमा पुनर्निर्माणको काम प्राथमिकताका साथ भइरहेको जानकारी दिए।
उनका अनुसार विपद् लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले अबण्डा बजेटबाट तत्काल पुनःस्थापनाका काम अघि बढाउने निर्णय गरेको थियो। त्यसअनुसार अहिले मुख्यतः प्रभावित क्षेत्रको यातायात तथा अन्य आवश्यक कनेक्टिभिटी सञ्चालनमा ल्याउने र खानेपानीलगायत अत्यावश्यक सेवा पुनःस्थापना गर्ने कामलाई प्राथमिकता दिइएको छ।
‘बाढी आएको दिन नै मन्त्रिपरिषद् बैठक बसेर अबण्डा बजेटबाट तत्काल काम सुरु गर्ने निर्णय भएको थियो,’ मन्त्री लम्सालले भने, ‘अहिले हाम्रो प्राथमिकता कनेक्टिभिटी सुचारु गर्ने र खानेपानीजस्ता अत्यावश्यक सुविधा तत्काल पुनःस्थापित गर्नेमा केन्द्रित छ।’
उनले ठूला निर्माणबाहेकका अधिकांश काम असोज महिनाभित्र सम्पन्न गरी यातायात सञ्चालनमा ल्याउने लक्ष्य राखिएको बताए।
आपत्कालीन ठेक्का प्रक्रियाअन्तर्गत भदौ १२ गतेदेखि विभिन्न पुनःस्थापना तथा निर्माणका कामका लागि ठेक्का लगाउन सुरु गरिएको र आवश्यकताअनुसार प्रक्रिया निरन्तर अघि बढिरहेको पनि मन्त्री लम्सालले जानकारी दिए।