किरात राई यायोक्खा जिल्ला कार्यसमिति पर्साको पाँचौँ जिल्ला अधिवेशन पुर्वेली होटेलमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले चन्द्र बान्तवा राईको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ।
किरात राई यायोक्खा जिल्ला कार्यसमिति पर्सा, वीरगञ्जको आयोजनामा सम्पन्न अधिवेशनमा किरात राई यायोक्खा पर्साका संस्थापक अध्यक्ष एवं केन्द्रीय सदस्य जगत आठपहरिया राई तथा किरात राई यायोक्खा जिल्ला कार्यसमिति बाराका अध्यक्ष सुरेश कुमार राईको विशेष उपस्थितिमा सो अधिवेसन सम्पन्न भएको हो। अधिवेशनका क्रममा किरात राई समुदायको मौलिक भाषा, संस्कृति, संस्कार, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्ने विषयमा जोड दिइएको थियो। आफ्नो मौलिक भाषा र संस्कृतिको संरक्षण गर्दै भावी पुस्तासम्म यसको महत्त्व र पहिचान हस्तान्तरण गर्नु संस्थाको मुख्य उद्देश्य रहेको वक्ताहरूले बताएका थिए।
कार्यक्रममा बोल्दै किरात राई यायोक्खा पर्साका संस्थापक अध्यक्ष एवं केन्द्रीय सदस्य जगत आठपहरिया राईले किरात राई समुदायको भाषा, संस्कृति, संस्कार र परम्पराको संरक्षणका लागि संस्थाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन् । उहाँले समुदायको मौलिक पहिचानलाई जीवन्त राख्न सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। त्यसैगरी, अधिवेशनको सफलता तथा नयाँ कार्य समितिलाई हार्दिक बधाई दिदै किरात राई यायोक्खा जिल्ला कार्य समिति बाराका अध्यक्ष सुरेश कुमार राईले किरात राई समुदायको सांस्कृतिक पहिचान संरक्षणका साथै सामाजिक एकता, आपसी सद्भाव र संगठनलाई थप सुदृढ बनाउँदै लैजानुपर्ने धारणा व्यक्त गर्नु भएको थियो । उनले भने आगामी दिनहरुमा आफुले सक्ने सहयोग र सहकार्य निरन्तरता दिइरहने प्रतिबद्धता जनाउनुभएको छ।
पाँचौँ जिल्ला अधिवेशनबाट चन्द्र बान्तवा राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएसँगै संस्थाले आगामी दिनमा भाषा, संस्कृति, संस्कार तथा परम्पराको संरक्षण र समुदायको हकहितका क्षेत्रमा थप सक्रिय भएर काम गर्ने अपेक्षा गरिएको छ।
अधिवेशनले किरात राई समुदायबीच आपसी एकता, सहकार्य र सांस्कृतिक जागरणलाई थप मजबुत बनाउँदै नयाँ नेतृत्वमार्फत संस्थाका उद्देश्यहरूलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।नयाँ कार्यसमितिको पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्ष सिंहबहादुर राई महिला उपाध्यक्ष मोनिका राई सचिव प्रदिप राई कोषाध्यक्ष तारा श्रेष्ठ राई सदस्यहरू सुखमती राई हरि राई इसीका राई देविक्षा राई सानु राई विष्णु राई गरी ११ जना जिल्ला कार्यसमिति चयन आएका छन् १ बैठकले आगामी केन्द्रीय प्रतिनिधि चयन गर्ने अध्यक्ष चन्द्र बान्तवा राईले जानकारी दिनुभएको छ।