वीरगञ्ज । पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण गरिएको जग्गा तथा भौतिक सम्पत्तिको मुआब्जा माग्दै स्थानीय पीडितहरूले सोमबारदेखि अनिश्चितकालीन धर्ना सुरु गरेका छन्।
ड्राइपोर्टको मूल गेटमै बसेर स्थानीयले धर्ना सुरु गरेपछि ड्राइपोर्टबाट मालबाहक ट्रक, कन्टेनरलगायतका सवारीसाधन बाहिरिन सकेका छैनन्। धर्नाका कारण ड्राइपोर्टको नियमित आवागमनसमेत प्रभावित भएको छ।
अनिश्चितकालीन धर्ना संघर्ष समितिका अध्यक्ष अशोक कुमार चौधरीले सरकारले विगत १२ वर्षदेखि मुआब्जा दिने आश्वासन दिँदै आए पनि अहिलेसम्म आफूहरूको समस्या समाधान नगरेको गुनासो गरे।
उनका अनुसार मुआब्जाका विषयमा जिल्ला प्रशासन कार्यालयदेखि सरकारका सम्बन्धित निकायसम्म पटक–पटक छलफल, चहलपहल तथा सम्झौता भए पनि कार्यान्वयन हुन सकेको छैन। पटक–पटक आश्वासन पाए पनि पीडितको माग सम्बोधन नभएपछि बाध्य भएर निर्णायक आन्दोलनमा उत्रिनुपरेको उनले बताए।
“१२ वर्षदेखि सरकारले आश्वासन मात्रै दिँदै आएको छ। पटक–पटक सम्झौता र छलफल भए पनि मुआब्जा पाएका छैनौँ,” अध्यक्ष चौधरीले भने, “अब हामी सबै पीडित मिलेर निर्णायक धर्नामा बसेका छौँ। आफ्नो मुआब्जा नपाएसम्म यहाँबाट हट्दैनौँ।”

पीडितहरूले अधिग्रहणका क्रममा गुमेको जग्गा तथा भौतिक संरचनाको उचित मुआब्जा तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने उनीहरूको चेतावनी छ।
स्थानीयको धर्नाका कारण ड्राइपोर्टको मुख्य गेटबाट मालबाहक सवारीसाधनको आवागमन रोकिएपछि यसको प्रत्यक्ष प्रभाव आयात–निर्यातसँग सम्बन्धित ढुवानी सेवामा परेको छ।