वीरगञ्ज । विजयादशमीको अवसर पारेर अल्पाइन प्लस टु कलेजले डान्डिया नृत्य कार्यक्रम आयोजना गरेको छ। कलेज परिसरमा आयोजित कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययनरत चार सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो।
कार्यक्रममा डान्डिया नृत्यमा सहभागी विद्यार्थीलाई कलेजका सञ्चालक विनोद उपाध्यायले प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेका थिए। कार्यक्रममा शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चालक उपाध्यायले डान्डिया नृत्यजस्ता सांस्कृतिक गतिविधिले विद्यार्थीमा आफ्नो संस्कार र संस्कृतिप्रति अपनत्वको भावना विकास गर्नुका साथै मौलिक संस्कृति संरक्षणमा समेत योगदान पुर्याउने बताए।
उनले कलेजले अध्ययन–अध्यापनसँगै विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकता दिँदै विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको जानकारी दिए। उनका अनुसार कलेजमा नृत्य, संगीत, खेलकुदलगायतका गतिविधि नियमित रूपमा आयोजना हुँदै आएका छन्।
विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यवहारिक तथा सिर्जनात्मक शिक्षासँग जोड्ने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गरिएको उपाध्यायले बताए। यस्ता गतिविधिले विद्यार्थीमा आपसी भाइचारा, सहकार्य, आत्मविश्वास तथा सांस्कृतिक चेतनाको विकासमा सहयोग पुग्ने उनको भनाइ थियो।
विजयादशमीको अवसरमा आयोजित डान्डिया कार्यक्रममा विद्यार्थीले उत्साहपूर्वक सहभागिता जनाउँदै विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए। कलेजले विद्यार्थीको प्रतिभा प्रस्फुटन तथा व्यक्तित्व विकासका लागि आगामी दिनमा पनि यस्ता अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिने जनाएको छ।