सनातन हिन्दू मोर्चाका केन्द्रीय अध्यक्ष सन्तोषानन्दले छठ पर्वको अवसरमा दुई दिन राष्ट्रिय बिदा घोषणा गर्न नेपाल सरकारसँग माग गरेका छन्। नेपाल देवभूमि तथा सनातन धर्मको उद्गमस्थल भएकाले छठ पर्वको धार्मिक, सांस्कृतिक एवं सामाजिक महत्त्वलाई ध्यानमा राख्दै सरकारले दुई दिन सार्वजनिक बिदा दिनुपर्ने उनको भनाइ छ।
आगामी २०८३ साल कात्तिक २९ र ३० गते छठ पर्व परेको उल्लेख गर्दै अध्यक्ष सन्तोषानन्दले आइतबार सार्वजनिक बिदा रहे पनि सोमबारसमेत बिदा घोषणा गरिए व्रतालु, भक्तजन तथा श्रद्धालुहरूलाई ठूलो राहत पुग्ने बताएका छन्। चार दिनसम्म मनाइने छठ पर्वको धार्मिक विधि र परम्परालाई सहज बनाउन थप एक दिन बिदा आवश्यक रहेको उनले जोड दिएका छन्।
त्यसैगरी, छठ पर्वको अवसरमा वीरगञ्ज, जनकपुरधाम, काठमाडौं, चितवन, विराटनगर, गोरखा, कपिलवस्तु तथा लुम्बिनीलगायतका प्रमुख धार्मिक एवं सांस्कृतिक क्षेत्रमा हेलिकप्टरबाट पुष्पवृष्टि गर्न पनि उनले नेपाल सरकारसँग आग्रह गरेका छन्।
छठ पर्वका बेला तराई–मधेसका विभिन्न स्थानमा हुन सक्ने अवाञ्छित गतिविधि तथा सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै गृह प्रशासनलाई विशेष सतर्कता अपनाउनसमेत अध्यक्ष सन्तोषानन्दले अनुरोध गरेका छन्।
अन्त्यमा, छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै देशमा सुख, शान्ति, समृद्धि र राष्ट्रिय एकता कायम होस् भनी छठी मैयासँग प्रार्थना गरेका छन्।