वीरगगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले नेपाल–भारत सीमानाकामा थप निगरानी बढाएको छ । भारतले पाकिस्तानी र बङ्गलादेशी नागरिकलाई देश छोड्न आदेश दिएपछि नेपालको मुख्य प्रवेशद्वारमा सुरक्षा सतर्कता बढाइएको हो ।
छिमेकी मुलुक भारतबाट नेपाल प्रवेश गर्ने शङ्कास्पद व्यक्तिको जाँचमा कडाइ गरिएको जिल्ला प्रहरीले कार्यालय पर्साले जनाएको छ । भारतबाट नेपाल प्रवेश गर्नेलाई सरकारी परिचय पत्र देखाउन अनिवार्य गरिएको पर्सा प्रहरी प्रमुख ९एसपी० गौतम मिश्रले बताए । उनका अनुसार वीरगन्ज नाका भएर भारत जान वा भारतबाट नेपाल प्रवेश गर्न नागरिकता, परिचयपत्र अनिवार्य देखाउनुपर्ने नियम लागु गरिएको छ ।
एसपी मिश्रले महानगरका सबै प्रहरी इकाइ तथा मातहतका प्रहरी चौकीहरूलाई सिमानाकाबाट प्रवेश गर्ने व्यक्तिमाथि निगरानी गर्न निर्देशन समेत दिएका छन् । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरेर कुनै चुक नगरी नाकामा सतर्कता अपनाउन मातहतका निकायलाई निर्देशन दिइएको प्रहरी प्रमुख मिश्रले बताए ।
सीमानाकामा कडाइ गर्नका लागि प्रहरीले आफ्नो ‘स्पेसल डग’ को समेत परिचालन गरेको छ । अहिले मुख्य नाकामा प्रहरीको ‘स्पेसल डग’ खटाएको प्रहरी प्रमुख मिश्रको भनाइ छ ।
‘सीमानाका भएर लागु औषधको ओसारपसार पनि भइरहेको छ । सबै हिसाबले सतर्कता बढाएका छौँ, एसपी मिश्रले भने, ‘अहिले पाकिस्तानी र बङ्गलादेशी नागरिक वीरगन्ज नाका भएर नेपाल प्रवेश गर्न सक्ने अवस्था छ, त्यही आङ्कलन गरेर सुरक्षा समितिको सल्लाहबमोजिम थप निगरानी बढाएका हौँ।’
वीरगञ्जसहित ग्रामीण भेगका नाकाहरूमा व्यापक सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । भारतको काश्मिर राज्यस्थित पहलगाममा एक नेपालीसहित २७ जनाको आतंकवादीहरुले हत्या गरेपछि उत्पन्न घटनाक्रमलाई मध्यनजर गरी पर्सा प्रहरीले थप सतर्कता बढाएको हो ।
भारत र पाकिस्तानबिच उत्पन्न विवादले एक अर्का देशका नागरिकलाई देश निकाला गरिरहेको अवस्थामा भारत भएर नेपाल भित्रिने पाकिस्तानी र बङ्गलादेशी नागरिकको अवैध प्रवेश रोक्न निगरानी तीव्र पारिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।