रौतहट : नेकपा एमाले गौर नगर कमिटीको नवौं नगर अधिवेशन अन्तर्गत खुल्ला सत्र गौरमा बुधबार भव्य रूपमा सम्पन्न भएको छ। गौरको इतिहासमै पहिलोपटक हजारौं कार्यकर्ताको उत्साहजनक सहभागिता रहेको यस अधिवेशनले पार्टीको संगठन बलियो बन्दै गएको संकेत गरेको छ।
खुल्ला सत्रको उद्घाटन एमालेका राष्ट्रिय सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्टले गरे। उनले एमालेलाई स्थानीयदेखि राष्ट्रिय तहसम्म सशक्त बनाउने नेतृत्वको जिम्मेवारी औंल्याउँदै गौरका कार्यकर्ताको एकता र समर्पणलाई सराहना गरे। उनले यस्तो अधिवेशनले संगठन सुदृढ गर्ने मात्र नभई नयाँ दिशा तय गर्ने अवसर समेत प्रदान गर्ने बताए।
जिल्ला इन्चार्ज अजय कुमार गुप्ताको सक्रिय नेतृत्वमा सम्पन्न अधिवेशनले पार्टीप्रतिको जनविश्वास अझ बलियो बनाएको सहभागीहरूले बताए। गुप्ताले पार्टीको सांगठनिक विस्तार, महिला सहभागिता र युवापुस्ताको अग्रसरता सुनिश्चित गर्ने योजनाबारे जानकारी दिए।
अधिवेशनमा पार्टीका वरिष्ठ नेताहरू उद्वव रेग्मी, रेखा झा, कुन्दन कुशवाहा, सचिदानन्द साह, जयचन पटेल लगायतको उल्लेखनीय उपस्थिति थियो। नेताहरूले समावेशी संगठन निर्माण, अनुशासन र भावी निर्वाचन तयारीको आवश्यकता औंल्याए।
नगर अध्यक्ष शम्भु यादवले पारदर्शिता र कार्यक्षमताको आधारमा पार्टी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा नगरका सबै वडाबाट प्रतिनिधित्व रहने गरी झाँकी, र्याली र सांस्कृतिक प्रस्तुतिहरू समेत प्रदर्शन गरिएका थिए।
खुल्ला सत्रमा आगामी निर्वाचन, संगठनात्मक पुनरावृत्ति, सामाजिक न्याय, आर्थिक पारदर्शिता र समावेशीकरणजस्ता विषयमा विशेष छलफल गरिएको थियो। जिल्ला अध्यक्ष सचिदानन्द साहले पत्रकारहरूसँग कुराकानी गर्दै अधिवेशनलाई प्रशिक्षण र रणनीतिक सोचको प्रारम्भिक बिन्दु बताएका थिए।
करीब ३००० कार्यकर्ताको उपस्थिति रहेको यस अधिवेशनले गौर नगर मात्र होइन, सम्पूर्ण रौतहट जिल्लामा एमालेप्रतिको सन्देश थप बलियो बनाएको छ। पार्टी नेतृत्वले अब अधिवेशनबाट उठेका एजेन्डा कार्यान्वयनमा लैजाने तयारी थालेको संकेत दिएको छ।